तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षण मुद्रण केन्द्रको काम आगामी नौ महिना भित्र सम्पन्न हुने

काभ्रे। काभ्रेमा रहेको आइटी पार्कमा सुरक्षण मुद्रण प्रेसको काम आगामी नौ महिना भित्र सम्पन्न हुने भएको छ । करीब दुई वर्ष अघि भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्क)मा प्रेसको काम सुरु गरिएको हो ।

नेपाल सरकारले करीब दुई वर्षअघि पार्कलार्ई सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र)मा परिणत गर्न लागेको हो । प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई काम सुरु भएको छ । काम सुरु भएपछि उक्त स्थानमा ६ थान मेसिन समेत झरी सकेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताउनु भयो ।

निर्देशक पौडेलका अनुसार प्रेसमा राहदानी, बैङ्क नोट, चालक अनुमति पत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिम कार्डलगायत सुरक्षित छपाइका कामहरू हुने छन् ।करिब २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठुला व्यापारिक/प्रशासनिक भवन तथा चार वटा सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन रहेका छन् । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिकरुपमा बाहिरिने रु १० अर्ब जोगिने अपेक्षा गरिएको निर्देशक पौडेलले बताउनु भयो । प्रेस सञ्चालनमा आए पछि २०० प्राविधिकसहित करीब १ हजार जनशक्तिको आवश्यकता पर्ने पौडेलले बताउनु भयो ।

छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँच मार्ग निर्माणको काम भइरहेको छ । हाल खानेपानीका लागि एक÷एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङ्की निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठुला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङ्की निर्माण सम्पन्न भइसकेको पौडेलले बताउनुभयो ।

दक्षिण एशियामै नमुना र ठुलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको छ । सोहीअनुरूप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिण पूर्वी एशियाका राष्ट्रलाई उपलब्ध गराउने योजना समेत रहेको पौडेलले बताउनुभयो ।

साथै तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरिएको पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button