तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक प्रहरीले निषेधाज्ञामा चोरी भएका ३३ मोटरसाइकल खोजेर जिम्मा लगाए

काठमाडौँ। उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एव नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले  जारी निषेधाज्ञाको समयमा समेत सक्रियता पूर्वक परिचालन भई चोरी  नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणलाई निरन्तरता दिँदै यस अवधिमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल आज एक कार्यक्रमका बिच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाइकल र १०  वटा स्कुटर रहेका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना सङ्कलन गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताउनुभयो ।

चोरको आँखामा एनएस पल्सर
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् । विशेष गरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरू चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

बिशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण ईलाकामा लगी नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा बास्तिक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताउनु भयो।यसरी हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कबाट देखिएको समेत उहाँले जानकारी दिनुभयो ।

यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरूबाट पक्राउ गरी कारबाहीको लागी प्रहरी वृत्तहरूमा पठाएको समेत महाशाखाले जनाएको छ ।सवारी साधनमा अतिरिक्त ह्विप लक, डिस्क लक, सेक्युरिटी साइरनहरू जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभाबी पार्किङ नगर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button