तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावितलाई दक्षिण कोरियामा बस्ने नेपालीहरूको सहयोग

सिन्धुपाल्चोक । मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरूका लागि देश–विदेशबाट सहयोग जुटिरहेको छ ।

पीडाका बेला थोरै भए पनि राहत दिन सकिन्छ कि भन्ने प्रयत्न भइरहेको छ ।

यसैबीच दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूले मेलम्ची–इन्द्रावतीका बाढी प्रभावितहरूका लागि रकम सङ्कलन गरी पठाएका छन् । हेलम्बु–४ कार्साङ तामाङले सहयोग सङ्कलन कार्यको संयोजन गरिरहनुभएको छ ।

सिन्धुपाल्चोक समाज नाम दिइएको सो संस्थाले कुमार लामिछाने, सोमबहादुर तामाङमार्फत प्रत्यक्ष प्रभावितसम्म पुग्ने गरी नगद सहयोग हस्तान्तरण गरेको छ ।

तेर्से मावि, तालामाराङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निल बहादुर शाहीले सहयोग रकम रु।४० हजार ग्रहण गर्दै सबैको सहयोगले नै विद्यालय बचाउन सकिने भन्दै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रधानाध्यापक कृष्ण ढुङ्गानाले तारजाली लगाएर विद्यालय बचाउन लागेको जानकारी दिँदै यस कार्य खर्चिलो भएको हुँदा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सरस्वती मावि, ग्यालथुमका प्रधानाध्यापक सीताराम ढकालले सहयोग रकम ४० हजार बुझ्दै नदीको कटानबाट विद्यालयलाई जोगाउन तुरुन्त लाग्नुपर्ने हुँदा सहयोगका लागि सबैमा आह्वान गर्नुभयो ।

विद्यालय व्यवस्थापन सदस्य सुरेश तामाङले विद्यालय संरक्षणमा लागिपरिरहेको जानकारी दिनुभयो ।

इस्टपोइन्ट एकेडेमी पूर्णतः क्षति भएको हुँदा पाँच सय ५० विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता भएका बेला नगद सहयोगले अस्थायी भवन निर्माणमा सहयोग पुग्ने प्रिन्सिपल दामोदर भारतीले बताउनुभयो ।

उहाँलाई पनि रु। ४० हजार हस्तान्तरण गरिएको हो । हेलम्बु गाउँपालिकाका बाढीमा परी परिवारका सदस्य गुमाएका १५ परिवारलाई दश/दश हजार सहयोग गरिएको छ ।

नेपालमा रहेर सहयोग संयोजन गरिरहनुभएका कुमार लामिछाने र सोमबहादुर तामाङले सम्बन्धित विद्यालयमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरणका सिलसिलामा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जो जहाँ रहे पनि विपद्का बेला सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रोजगारी तथा अध्ययनका लागि बिदेसिएका नेपालीहरूले पीडाका बेला सम्झनु महत्त्वपूर्ण भएको भन्दै अध्यक्ष भारतीले यस्तो बेलाको सहयोग अविस्मरणीय रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button