प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा राहतमा प्रभावकारी रुपमा काम भएको छ : उपप्रधान एवं गृहमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान मन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा राहतमा सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताउनु भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री पौडेलले प्राकृतिक विपत्तिबाट क्षति पुगेका ५ सय ७२ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।
मन्त्री पौडेलले यो वर्ष मनसुनबाट हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरूमा ५ सय ६५ घर पूर्ण र १ सय १२ घरमा आंशिक क्षति भएको जानकारी गराउनुभयो ।
यस्तै ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको र ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको जानकारी पनि गृहमन्त्री पौडेलले दिनुभयो ।
मन्त्री पौडेलले सिन्धुपाल्चोकमा ७, मनाङ र चितवनमा २/२ तनहुँ, उदयपुर, मोरङ र सिरहामा १/१ गरी जम्मा १५ वटा पक्की पुल र विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको र ती पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो
मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री वितरण गरिएको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष मनसुनबाट क्षति पुगेका ३ हजार ९ सय ५० परिवारलाई घर बनाउन पहिलो किस्ता बापत ५० हजार रुपैयाँ दिइएको पनि जानकारी गराउनुभयो ।
यस्तै मन्त्री पौडेलले बाढी पहिरोमा परेका २ सय ७८ जनालाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको पनि बैठकमा जानकारी गराउनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्नु भयो ।
यस्तै बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ सभा समक्ष पेश गर्नु भयो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यको स्थान रिक्त भएको विषयमा जनाकारी समेत गराउनु भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउसो १ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्