तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

वीरगञ्ज। वर्षा ऋतुको आगमनसँगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् ।

अकासभरि छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरू आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् ।मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकाशे पानीले समयमै बेर्ना लगाएका छन् । जगरनाथपुरका किसान हरिदेवले गण्डक नहरमा समयमा पानी नआउँदा मनसुने पानीको भरमा समयमै बेर्ना लगाइएकाले यसपालि धानको उत्पादन राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले समयमा धानको बेर्ना लगाएपछि यसपालि मानो रोपेर मुडी उब्जाउने किसानको सपना साकार हुने देखिन्छ । उत्पादन राम्रो हुने देखेपछि यहाँका किसान खुसी भएका छन् । किसान मनोज साहले भन्नुभयो, “मनसुनी वर्षाका कारण यो वर्ष सोचेभन्दा बढी उत्पादन हुने हुँदा किसान खुसी देखिएका छन् ।”

पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेश प्रसादले बताउनुभयो । पर्सामा कूल ४६ हजार ६ सय हेक्टर ,बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यस वर्ष समयमै मनसुनी वर्षा भएकाले तराईका जिल्लाहरूमा चाडै नै धान रोपाइँ सकिने र यही अवस्था रहेमा उत्पादन पनि राम्रो लिन सकिने विश्वास सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ । उर्वर भूमि, पर्याप्त जनशति र सिँचाइको ठुलो स्रोत हुँदाहुँदै पनि विगतका वर्षहरूमा पानीको अभावका कारण समयमा धान रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आउने गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button