कांग्रेस उपसभापति निधी, महामन्त्री कोइराला र सिंहबिच भेटवार्ता

काठमाडौं ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबिच भेटवार्ता भएको छ ।
पार्टीका पूर्व महामन्त्री सिंह निवास चाक्सीबारी ठमेलमा आज भएको भेटमा पार्टीको आगामी १४औँ महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल भएको महामन्त्री डा कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।
महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयसमेतमा नेताहरूबिच छलफल भएको थियो । सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफू एक पटक फेरि सभापति लड्ने आकाङ्क्षा राख्दै आफूनिकट पार्टीका केन्द्रीय सदस्यसँग भेटेसँगै उपसभापति निधी, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबिच पनि भेटघाट बाक्लिएको हो ।
यसअघि आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाबिच मण्डिखाटारमा भेटवार्ता भएको थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्