झापाको मेचीनगरमा विपद् जोखिम क्षेत्रको पहिचान गरी अनुगमन गरिने
झापा । झापाको मेचीनगर नगरपालिका भित्र सम्भावित विपद् जोखिम क्षेत्र र स्थानको पहिचान गरी अनुगमन गरिने भएको छ । नगरपालिकामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
मनसुन सुरुवातसँगै सम्भावित विपद्को उचित व्यवस्थापनका लागि समितिका संयोजक एवम् नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बैठक बसेको थियो ।बैठकले विभिन्न निर्णय गरेको बताइएको छ । बैठकले जोखिम क्षेत्र र स्थानको पहिचान गरी अनुगमन गर्ने, सचिवालय गठन गर्ने, विपद् सम्बन्धिका सबै सूचना एकद्वार प्रणाली अन्तर्गत प्रवाह गर्ने, विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक स्रोत साधन ज्याकेट, बेल्चा, डोरी, हेलमेट, फरुवालगायतको समयमै व्यवस्थापन गर्नेलगायतको निर्णय भएको छ ।
बैठकमा समितिका संयोजक एवम् नगरप्रमुख आचार्यले नगरपालिकाले १५ लाख रुपैयाँ बराबरको तार जाली खरिद प्रक्रिया अघि बढाएको, ४ सय ५० वटा तार जाली ५५ हजार बोराको व्यवस्थापनमा नगर सरकार जुटेको जानकारी दिनुभयो। यसै गरी, ढुङ्गा, बासलगायतका सामग्री वडा स्तरीय विपद् व्यवस्थापन समितिले जुटाउनुपर्ने, विपद् व्यवस्थापन पश्चात् उद्गार, पुनः स्थापना,वैकल्पिक उपायहरू, स्थानहरू, पहिचान, पूर्व सूचना प्रणाली सञ्चालन गर्ने लगायतका विषयमा समेत बैठकमा छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्