विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि गाउँपालिकाको कार्यालय अर्को जिल्लाबाट सञ्चालन

गोरखा। सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न सुरु गरेको छ ।
जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटेल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । असार लागेसँगै लगातारको वर्षाका कारण आएको बाढी पहिरोले विद्युत्को पोल ढलेको हुँदा पालिकाको कार्यालय रहेको माछा खोलामा लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । “विद्युत् सेवा र इन्टरनेटको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत समस्या भएको छ ।” गत जेठको अन्तिम सातादेखि अवरुद्ध भएको विद्युत् सुचारु हुने अवस्था नभएपछि गाउँपालिकाले अस्थायी रुपमा स्थापना गरेर भए पनि कार्यालय सञ्चालनमा ल्याउन बाध्य भएको अध्यक्ष गुरुङको भनाइ छ ।
“कामको चाङ छ, केही गर्न नै पाइएको छैन”, गाउँपालिकाका उपाध्यक्ष फुलमायाँ गुरुङले भन्नुभयो, “आइतबारदेखि कार्यालयका झिटीगुन्टा लिएर धादिङको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापन गरी काम थालेका छौ ।” माछी खोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थायी रुपमा कार्यालय स्थापना गरेर भए पनि सेवाग्राहीलाई सेवा दिइरहेका छौँ, उहाँले भन्नुभयो । असार लागेसँगै परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछी खोलासम्म जडान गरिएको राष्ट्रिय प्रसारण लाइनको विद्युत् पोल दर्जनौँ स्थानमा ढलेका छन् । पोल ढलेका कारण विद्युत् सेवा प्रवाह गर्न समस्या भएको बताइएको छ । त्यस क्षेत्रमा तत्कालै विद्युत् प्रवाह गर्न सक्ने अवस्था नरहेको सल्यानटार विद्युत् प्रसारण केन्द्रले जनाएको छ ।
“बुढीगण्डकी नदीको बगरबाट माछा खोलासम्म पुर्याइएको विद्युत्को हाइटेन्सन लाइन बाढीका कारण नदीको बिच भागमा पुगेको छ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “भिरालो स्थानका केही पोलहरू पहिरोले कामै नलाग्ने गरी बिग्रिएको छ । विद्युत् र इन्टरनेट सुचारु हुनासाथ पुनः आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिनेछ ।” नेपाली सेनाले सुचारु गरेको आरुघाट—माछी खोला सडकअन्तर्गत विभिन्न स्थानमा सोमबार राति पहिरो जाँदा अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मान्बु हुँदै काशीगाउँ भएर मात्र माछी खोला पुग्नु पर्ने बाध्यता छ ।रासस








प्रतिक्रिया राख्नुहोस्