तपाईँ सुन्दै हुनुहुन्छः

कनकासुन्दरी गाउँपालिकामा कृषि प्रदर्शनी मेला

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा प्राङ्गारिक कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । स्थानीय उत्पादनको बजार प्रवर्द्धन तथा रैथाने बालीको उत्पादन बुद्धिसँगै कृषितर्फ किसानलाई आकर्षित गर्न पहिलो पटक कृषि मेला प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा कनकासुन्दरीका किसानले आफ्नो उत्पादनलाई स्टलमा राखेका थिए । कनकासुन्दरी गाउँपालिका वडा नं। ५ मा रहेको नागरिक कृषि सहकारी संस्थाको आयोजना ,कृषि विकास कार्यालयको आर्थिक सहयोग र कृषि शाखा कनकासुन्दरीको समन्वयमा प्राङगारिक कृषि मेला प्रदर्शन गरिएको हो ।

नागरिक कृषि सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र उपाध्यायले मेलाले कृषकले उत्पादन गरेका वस्तु विक्रीमा सहयोग पुग्ने बताउनुभयो । यहाँले भन्नुभयो,‘गाउँमा उत्पादन गरेका कृषि वस्तुहरू घरमै कुवाएर फाल्नु भन्दा बजारमा कृषि मेला प्रदर्शनीले आम्दानी पनि हुने र कृषिमा आकर्षण बढ्ने विश्वास छ ।”

कृषकले उत्पादन गरेका फलफूल, तरकारी, दलहन र अन्य वस्तुहरूको बजारीकरण गर्न तथा कृषकलाई आत्मनिर्भर बनाउन यस्ता प्रदर्शनी पटक पटक पर्नेमा उहाँको जोड छ ।

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले कृषि वस्तुको बजारीकरण तथा उत्पादनमा वृद्धि गर्नका लागि कृषि अनुदानका कार्यक्रम तथा हाड बजार निर्माणलाई अघि बढाइने बताउनुभयो ।

कनकासुन्दरीमा उत्पादित आलु, सिमी, जौ, गहुँ, फापर, ओखर, आरु, ढटेलो ,प्याज, टमाटर, लसुन, काउली,भ्यान्टा चिनो कागुनो,मार्सिधान लगायतका कृषि वस्तुहरूको बजारीकरण तथा उत्पादन वृद्धिमा कनकासुन्दरीले जोड दिएको अध्यक्ष रावतको भनाई छ । उनका अनुसार कृषिलाई नै प्राथमिकता दिएर कनकासुन्दरीले ४५ करोड बराबरको आगामी आवको बजेट ल्याएको छ ।प्रदर्शनीमा सहभागी कनकासुन्दरीका ९० जना भन्दा बढी किसानलाई प्रमाण पत्र सहित नगद पुरस्कार दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button