जिल्ला प्रशासन कार्यालय अछामले बार अनुसार सेवा दिने

अछाम। जिल्ला प्रशासन कार्यालय अछामले स्थानीय तहलाई बार अनुसार सेवा प्रवाह गर्ने भएको छ ।निषेधाज्ञामा खुकुलो गरेसँगै जिल्ला प्रशासन कार्यालय अछामले अत्यावश्यक बाहेकका सेवाहरू पनि सुचारु गर्दै आलाेपालाे सेवा सुचारु गरेको हाे ।
गएको वैशाखदेखि बन्द भएका सेवाहरू मङ्गलवार (आज) १५ गतेबाट सुरु हुने प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।प्रत्येक स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने गरेर नियमित सेवा सुचारु गर्ने तयारी भएको हो । यसअघि कोरोना भाइरसका कारण जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो ।
मङ्गलवार देखी बार अनुसार पालिकाका नागरिकलाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो । साँफेबगर नगरपालिकाका नागरिकलाई आइतबार सेवा दिइने छ भने सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिकाका नागरिकलाई शुक्रवार सेवा प्रवाह गरिने अछाम प्रशासनले जनाएको छ ।
यस्तै बान्दिगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकलाई सोमबार सेवा दिइने छ । रामारोशन गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका नागरिकलाई मङ्गलवार सेवा दिइने प्रशासनले जनाएको छ ।
मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका नागरिकलाई बुधवार सेवा प्रदान गरिने छ भने चौरपाटी गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाका नागरिकलाई बिहीबार सेवा प्रदान गरिने छ ।जिल्ला सुरक्षा समितिको बैठकले हिजो राति १२ बजेदेखि निषेधाज्ञा केही खुकुलो पारेको छ भने २१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्