तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा एक हप्ता निषेधाज्ञा थपियो

पाँचथर । पाँचथर जिल्लामा कोरोना सङ्क्रमण जारी रहेको भन्दै जिल्लामा जारी निषेधाज्ञा सातौँ पटक थप गरी एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय भएको छ ।

यसअघि जारी निषेधाज्ञा आज राती १२ बजेसम्म रहेकोमा पुनः थप गरी आगामी असार २१ गते राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले बताउनुभयो ।

जिल्लामा सार्वजनिक यातायातका सेवाहरू पूर्ण बन्द रहने र पसल तथा व्यवसायी सबै प्रकारका स्वास्थ्य मापदण्ड पुरा गरी बिहान ५ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने व्यवस्था भएको जनाइएको छ ।

त्यसै गरी ब्युुटिपालर, तथा सैलुनहरू पूर्ण बन्द गरिएको छ । निर्माणसँग सम्बद्ध कार्य भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर टायम कार्डको अनुसार सञ्चालन गर्ने निर्णय जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिले गरेको बताइएको छ ।

पाँचथर जिल्लामा आइतबार मात्र ४५ जना कोरोना सङ्क्रमित थप भएका थिए । पाँचथर जिल्लामा दुई हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button