तपाईँ सुन्दै हुनुहुन्छः

चितवन कारागारका कैदीबन्दीको कोरोना सङ्क्रमणले मृत्यु

चितवन । चितवन स्थित भरतपुर कारागारमा रहेका एक जना कैदीबन्दीको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणले मृत्यु भएको छ ।
लमजुङको बेशीशहर नगरपालिका–१० का २४ वर्षीय कैदी बन्दी सुरज भण्डारीको आज बिहान मृत्यु भएको हो ।

उनको उपचारको क्रममा भरतपुर अस्पतालमा बिहान ३ः२० बजेको समयमा मृत्यु भएको भरतपुर कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाका अनुसार ती कैदीमा मुटुको समस्या थियो भने उनको अवस्था गम्भीर थियो । अस्पतालका चिकित्सकले कोरोना संक्रमण र मुटुको समस्याले उनको मृत्यु भएको जनाएको छ ।

लागु औषध मुद्दामा पुर्पक्षका लागि नवलपरासीको कारागारमा रहेका भण्डारीको अवस्था गम्भीर बनेपछि अदालतको अनुमतिमा उनलाई भरतपुर कारागार पठाइएको थियो । यही असार ४ गते भरतपुर आएको भण्डारीको अवस्था झनै जटिल बनेपछि उनलाई ९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक भण्डारी २०७८ वैशाख ५ गते लागू औषध मुद्दामा पक्राउ परेका थिए । उनलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।भरतपुर कारागारमा अहिले ६७७ जना कैदी बन्दी रहेका छन् । जसमध्ये ५१ जना महिला, ३ जना आश्रित बालिका र ६२३ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button