तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक

पर्वत । पर्वतका सबै स्थानीय तहले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कुश्मा नगरपालिकाले ७५ करोड २९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । विनियोजित रकम मध्ये प्रशासनिक खर्च तर्फ रु १५ करोड विनियोजन गरिएको छ । 

बजेट मध्ये नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु १४ करोड १५ लाख, गण्डकी प्रदेशबाट १ करोड ६७ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड, ८३ लाख २० हजार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय समेत बजेटमा समावेश गरी प्रस्तुत गरिएको छ । बजेटमा समपूरक कोषतर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ रु.१ करोड तथा आकस्मिक कोष÷प्रकोप व्यवस्थापन कोषमा ४५ लाख विनियोजन गरिएको छ । 

बिहादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २४ करोड ५३ लाख ४० हजार र पुँजीगत तर्फ १८ करोड ७४ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि कुल ३९ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महाशिलाले चालु खर्च तर्फ ३ करोड २८ लाख २१ हजार विनियोजन गरेको छ भने पुँजीगत तर्फ १५ करोड ४ लाख ७१ हजार विनियोजन गरेको जनाएको छ । यसै गरी सशर्त तर्फ सङ्घीय सरकारबाट तोकिएको कार्यक्रममा रु १६ करोड ९७ लाख, विशेष अनुदान सङ्घीय तर्फ १ करोड ८ लाख रुपैयाँ रहेको छ । त्यसै गरी सशर्त अनुदान प्रदेश सरकारतर्फ ६० लाख, समपूरक ४० लाख र जिल्ला समन्वय समिति मार्फत प्राप्त रु ४० लाख र अन्य गरी उक्त बजेट सार्वजनिक गरिएको हो । 

मोदी गाउँपालिकाले  रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा  सशर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पुँजीगत तर्फ विनियोजन पारित गरिएको छ । मोदी गाउँपालिकाले आगामी बजेटमा गाउँपालिका हाइड्रोको हब भएको र विद्युत् रोयल्टी समेत प्राप्त हुने कुरा मध्यनजर गर्दै मोदी गाउँपालिकामा २० युनिट सम्म मात्र खपत गर्ने सबै घर परिवारको २० युनिट सम्मको न्यूनतम शुल्क अनुदान स्वरूप तिर्ने निर्णय गरेको छ ।

त्यसै गरी ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष सञ्चालन गर्ने, दलित र बालबालिका लक्षित सशक्तीकरणको कार्यक्रममा ४२ लाख रुपैयाँ विनियोजन गरेको छ । 

पैयुँ गाउँपालिकाले ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २३ करोड ८३ लाख रुपैयाँ र पुँजीगत तर्फ १९ करोड ८२ लाख २२ हजार रुपैयाँ विनियोजन भएको छ । 

पैयुँले कोभिड १९ रोकथामलाई प्राथमिकता दिएको छ । यस्तै गाउँपालिकाले बाँझो जमिनको उपयोग गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका यूवालाई रोजगारी सृजना लाई पनि जोड दिएको छ । 

जिल्लाको फलेवास नगरपालिकाले ८५ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवासनमा चालूतर्फ रू ३० करोड ६८ लाख, पुँजीगततर्फ ३९ करोड ३२ लाख र सामाजिक सुरक्षातर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।  

जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये चालूतर्फ आठ करोड र पुँजीगततर्फ पन्ध्र करोड २३ लाख ५० हजार रुपैयाँ र सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान रू. २१ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button