भद्रपुर नगरपालिकाको ८३ करोड १३ लाखको बजेट पारित

भद्रपुर, झापा । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट पारित गरेको छ ।
बुधवार झापा उद्योग सङ्घको सभाहलमा शुरु भएको आठौँ नगर सभामा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रस्तुत गरेको बजेट आज नगर सभाले पारित गरेको हो ।
नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगर सभामा प्रस्तुत बजेट अनुसार पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार र वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट अनुसार नगरपालिकाका गौरवका आयोजनाहरू र प्रदेशकै पहिलो साइन्ससिटी, कमलधाम पर्यटकीय स्थलजस्ता महत्त्वाकाङ्क्षी योजनाहरूलाई विशेष प्राथमिकता दिइएको छ भने बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको दिगोपन एवम् स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटन, उद्योग, लापोन्मूख आदिवासी जनजातिको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
सभामा नगरप्रमुख श्रेष्ठले नगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हाले पछिका चार वर्षमा भएका उपलब्धि आफ्नो नीति तथा कार्यक्रममार्फत सार्वजनिक गर्नुभएको थियो ।
चार वर्षे कार्यकालमा भद्रपुरमा सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ भने लगभग दुई सय किलोमिटर सडक स्तरोन्नति गरिएको छ । यस अवधिमा भद्रपुरमा दर्जनौँ पुल तथा कल्भर्ट निर्माण भएका छन् भने प्रतिवर्ष एक योजनामा ५५ लाखको लगानीमा नगर गौरवका नमुना मार्गहरू निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्