फुङ्लिङ नगरपालिकाले ल्यायो ६३ करोड ३९ लाख रुपैयाँको बजेट
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाले सङ्घीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ । सामाजिक सुरक्षा अनुदान बाहेकको बजेटबाट नगरपालिकाले चालूतर्फ ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ (६२.२४ प्रतिशत) र पुँजीगततर्फ २३ करोड ९३ लाख ६४ हजार रुपैयाँ (३७.७६ प्रतिशत) खर्च हुने अनुमान गरेको नगर उपप्रमुख बमबहादुर भट्टराईले प्रस्तुत गर्नु भएको थियो ।
सामाजिक विकासतर्फ ३१ करोड ४८ लाख ५० हजार (४९.७६ प्रतिशत), पूर्वाधार विकासतर्फ १६ करोड १४ लाख ५५ हजार (२५.४७ प्रतिशत), आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार (५.३४ प्रतिशत), सुशासन एवं अन्तर सम्बन्धित क्षेत्रतर्फ १ करोड १६ लाख ४० हजार (१.८४ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २१ लाख १५ हजार (१७.६९ प्रतिशत) रुपैयाँ विनियोजन भएको छ ।
उक्त खर्च वहनका लागि नगरपालिकाले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १६ करोड २० लाख, राजस्व बाँडफाँटको रकम ७ करोड ७८ लाख ९० हजार, सशर्त अनुदान २८ करोड १० लाख र विशेष अनुदान १ करोड ४९ लाख, समपूरक अनुदान १ करोड ९५ लाख रुपैयाँको स्रोत प्राप्त हुनेछ । यता कृषि, सहकारी, पशुपालन, सहकारी उद्योग र पर्यटन क्षेत्र गरी आर्थिक विकासतर्फ पनि नगरले जोड दिएको छ ।
नगरपालिकाले आगामी २०८२ भित्र यातायात, आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिक लगायत क्षेत्रको विकासमा जोड् दिने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ का बजेट विनियोजन कार्यक्रममा नगरपालिकाको दिगो विकास र समृद्धिको आधारभूत जग स्थापित गर्ने घोषणा गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्