तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय कविता महोत्सव शुरु

काठमाडौं ।नेपाल प्रतिष्ठानले ६४ औँ स्थापना दिवसका अवसरमा आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म भएको स्मरण गर्नुभयो । उहाँले महोत्सवबाट काव्य प्रतिभाको विकास हुँदै आएको जनाउँदै पुरस्कृत कवितालाई प्रकाशन गर्दै जाने बताउनुभयो ।

प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगाडिको पूर्व सूचनाअनुसार प्रतियोगिताका लागि देश विदेशबाट ७६४ कविता प्राप्त भएकामा मूल्याङ्कन समितिले वाचनका लागि ४१ कविका कविता छनोट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार वाचनका लागि १० प्राप्ताङ्क निर्धारण गरिएको छ । मूल्याङ्कनका लागि डा पौडेलको संयोजकत्वमा प्राज्ञ सभा सदस्य ध्रुव मधिकर्मी र उपप्राध्यापक डा विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको छ ।

पुरस्कृत कविताको नतिजा आजै साँझ सार्वजनिक हुनेछ । आरम्भमा अतिथि कवि डा बेन्जु शर्मा, आरडी प्रभाष चटौत र बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन् ।कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही रु ३० हजारसहित पुरस्कार प्रदान गरियो । प्रतिष्ठानले विसं २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस आजकै दिन कविता महोत्सव आयोजना गर्दै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button