ओखलढुङ्गामा चक्रपथ र पुल निर्माणको काम समय अगावै सकियो, दुवै योजना एकै पटक उद्घाटन

ओखलढुङ्गा । विकास निर्माणका आयोजना वषौं अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुई वटा योजना समय अगावै सम्पन्न भएका छन् । निर्वाचन क्षेत्र स्तरीय रिङरोड र सिस्नेखोला पुल निर्माणको काम सक्नुपर्ने समय भन्दा एक वर्ष अगावै सम्पन्न भएका हुन् ।
प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजना अन्तरगत निर्वाचन क्षेत्र नं. १ उच्चस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड रुम्जाटार-सानीटार-वनपाले-बुलादी-देउराली-फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रा.लि बालाजु काठमाडौँले ठेक्का लिएको थियो । २०७८ पुस २१ गते सम्म म्याद राखेर २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ९ किलो मिटर ८ सय मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।
भ्याट सहित १५ करोड ६२ लाख ७० हजार ६ सय ७५ रुपैंया ४९ पैसामा ठेक्का लिएको सडक चौडाइ गरेर ग्राभेल गर्ने काम तीन वर्षको समय हुँदा पनि डेढ वर्ष भित्रै सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको निर्माण व्यवसायी तेजबहादुर भुजेलले बताउनुभयो । महालक्ष्मी कन्स्ट्रक्सनले ठेक्का लिएका पूर्वाधार निर्माणका कामहरू सबै समय अगावै सक्ने गरिएको उहाँको भनाई छ । ‘यो त मन्त्री ज्यूले थालेको गौरवको योजना सकेसम्म राम्रो काम गरेर छिटो सम्पन्न गर्नुपर्ने दबाब थियो नै ।
हाम्रो कम्पनीले यसअघि दोलखा सहितका अन्य ठाउँमा जिम्मा लिएका काम पनि नेपाल सरकारले दिएको समय भन्दा अगाडि नै सम्पन्न गर्दै आएको छ ।’ उहाँले भन्नुभयो, ‘ढिलो गरेर कम्पनीको बदनाम गराउनु, जरिवाना तिर्नुभन्दा छिटो छिटो काम सकेर बोनस खाने हाम्रो नीति छ । काम थालेपछि रफ्तारमा गर्छौ । सकाएर सरकारलाई बुझाउँछौँ ।’ समय तालिका बनाएर निरन्तर काम गर्दा ठेक्कामा तोकिएको समय भन्दा अगावै काम गर्न सकिने उहाँको भनाई छ ।
ओखलढुंगाको सिस्ने खोला पुल पनि समय भन्दा एक वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक-सपनावति-रुम्जाटार सडक खण्ड अन्तरगत सिस्ने खोलामा २ वर्षमा बनाई सक्ने गरि ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।
के.एम. इन्जिनियर्स विल्डर्स प्रा.लि. काठमाडौँले २०७९ साल असार २४ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्ष भित्र सम्पन्न गर्ने गरि जिम्मा लिएको ३५ मिटर लम्बाई र ८.४ मिटर चौडाइको प्रिस्टिेस आर.सि.सि.पुल एक वर्ष भित्रै निर्माण सम्पन्न गरिएको ठेकेदार कम्पनी के.एम. इन्जिनियर्स विल्डर्स प्रा.लि.का मोहन कार्कीले बताउनुभयो ।
जिम्मा लिएको काम तोकिएको समय भित्रै सक्ने कम्पनीको नीति अनुरूप गुणस्तरीय काम गरेर समय अगावै निर्माण सम्पन्न गरी हस्तान्तरणको तयारीमा रहेको उहाँको भनाई छ । ‘ठेक्का सम्झौता गरेको एक वर्ष हुन केही दिन अझै बाँकी छ । सक्नुपर्ने समय अझै एक वर्ष छ तर हामीले काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेका छौँ ।’ निर्माण व्यवसायी कार्कीले भन्नुभयो, ‘शिलान्यास गरेर काम थालेका दिनदेखि कुनै दिन काम रोकिएन ।
प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री ज्यूको निरन्तर अनुगमन निरीक्षण भइरह्यो । बजेट पनि समयमै निकासा भएपछि काम बेलैमा सक्न हामीलाई सजिलो भयो ।’ निर्माण व्यवसायीले ढिला सुस्ती गर्ने समस्या देखाउँदा निर्माण जगत नै बदनाम बनेको भन्दै आफूहरू समय अगावै काम सकेर पुरस्कृत हुने नीतिका साथ लागिपरेको कार्कीको भनाई छ । ठेक्का सम्झौतापछि उक्त योजनाका लागि विनियोजित बजेट अन्यत्र खर्च नगरी त्यसैमा लगाएर काम गर्दा समयमै सकिने उहाँको अनुभव छ ।
सिस्नेखोला पुल स्थानीय सडक पुल कार्यक्रम, स्थानीय सडक पुल सहयोग इकाईको सहयोगमा भ्याट सहित ५,००,४४,४४२.२१ रुपैयाँ लागतमा सिस्नेखोला पुल निर्माणको ठेक्का लागेको थियो ।
प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गरिरहेका दुवै आयोजना सम्झौता अनुसार निर्माण सम्पन्न भएपछि शुक्रवार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले एकै पटक दुवै योजना उद्घाटन गर्नुभएको छ ।

नेपालको समृद्धि निर्माण व्यवसायीको गतिमा भर पर्छ : मन्त्री गुरुङ
प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले नेपालको समृद्धि निर्माण व्यवसायीको गतिमा भर पर्ने बताउनुभयो । गृह जिल्ला ओखलढुङ्गामा आफ्नो निर्वाचन क्षेत्र स्तरीय चक्रपथ आयोजना र सिस्नेखोला पुल उद्घाटन गर्दै मन्त्री गुरुङले निर्माण व्यवसायीले समयमै काम गर्दा सरकारको प्रगति देखिने र मुलुकमा समृद्धि आउने बताउनु भएको हो ।
अधुरा आयोजना सम्पन्न गर्दै नवनिर्माणलाई अघि बढाउने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मन्त्री गुरुङले निर्माण व्यवसायीहरूले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । छिटो र राम्रो काम गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने र म्याद सकिँदा सम्म काम नसक्नेलाई जरिवाना गर्ने सरकारको नीति प्रदेश १ मा कडाइका साथ लागु गरिएको उहाँको भनाई छ । ‘सरकारले बजेट मात्रै पठाएर विकास देखिन्न । बजेट आएपछि ठेक्का लाग्छ तर ठेकेदारले काम समयमै गर्दैन ।
आयोजना अलपत्र पारेपछि न समृद्धि आउँछ न त सरकारको काम देखिन्छ ।’ मन्त्री गुरुङले भन्नुभयो,‘ प्रदेश १ का १४ वटै जिल्लामा अधुरा आयोजना तत्काल सम्पन्न गर्ने हाम्रो नीति छ । अब काम नगर्ने ठेकेदार कारबाहीमा पर्छन् राम्रो गर्नेले नियमानुसार बोनस पाउँछन् । अर्को ठेक्का पाउँछन् ।’ ओखलढुङ्गा जिल्लामा विकासका काम जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याउन कर्मचारीलाई मन्त्री गुरुङले निर्देशन दिनुभएको छ ।
आफूले रोजेको चक्रपथको पहिलो खण्ड र सिस्नेखोला पुल निर्माणको काम समय अगावै सकिएको खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले जिल्लाको विकासले गति लिएको सन्देश दिएको बताउनुभयो । ‘आज मेरो त्यो सङ्कल्प पुरा भएको महसुस गरेको छु । बजेट आगामी वर्षका लागि पर्याप्त छ । अब ओखलढुङ्गामा जनताले चाहेको र हामीले बोलेको भन्दा बढी विकास देखिन क्रम सुरु भएको छ ।’ मन्त्री गुरुङले भन्नुभयो । सरकारले विकासका लागि बजेट अभाव हुन नदिने बताउँदै उहाँले राष्ट्रिय गोवरको आयोजनामा समेटिएको चक्रपथ जिल्लाका ३४ वटा वडामा एकसाथ पुग्ने गरि काम सुरु हुने बताउनुभयो । मन्त्री गुरुङकै पहलमा जिल्लाको मान्द्रे दोभान सहितका ठाउँमा निर्माणाधीन पुराना पुलको कामले तीव्रता पाएको छ भने यस वर्ष जिल्लामा दर्जन बढी नयाँ सडक पुल निर्माणको काम थालिएको छ ।
चक्रपथ निर्माणको बाँकी काम गर्न आगामी वर्षको बजेट आइसकेकाले ठेक्का मार्फत नयाँ सडक निर्माण र बनेको सडक स्तरोन्नतिको काम अघि बढाइने पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका प्रमुख गंगासागर यादवले बताउनुभयो ।
ठेकेदारले जिम्मा लिएर योजनाहरू अलपत्र पार्ने गरेका थुप्रै उदाहरणका बीच उच्चस्तरीय चक्रपथ र सिस्ने खोला पुल समय अगावै निर्माण सम्पन्न हुनु सुखद सन्देश भएको सरोकारवालाहरूले बताएका छन् । समय अगावै ठेक्का लिएको काम सक्ने निर्माण कम्पनीले नियमानुसार बोनस रकम पाउने जनाइएको छ ।
जिल्लामा ठेकेदारले समयमै काम नगर्दा पटक पटक म्याद थपिएर पनि काम नभएका दर्जनौँ आयोजनाहरू अलपत्र अवस्थामा छन् ।








प्रतिक्रिया राख्नुहोस्