तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार तथा राहत वितरण कार्यमा जुट्न निर्देशन

मकवानपुर । बागमती प्रदेश विपत् व्यवस्थापन निर्देशन समितिले विपत्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपत् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ । 

बैठकले मनसुनी प्रभाव सुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने सम्बन्धित निकायहरूबाट पूर्वानुमानसमेत भएको हुँदा बाढी, पहिरो, डुबान, भूक्षय जस्ता घटनाहरूबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक तयारी, उद्धार तथा राहतका कार्यहरू प्रभावकारी बनाउन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको विपत् व्यवस्थापन कार्यकारी समिति र प्रदेशका सबै मन्त्रालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिले मनसुनबाट हुने क्षति रोकथाम तथा उद्धारका लागि प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र अन्तर्गत गोदामघरमा भएका उद्धार सामाग्रीको मौज्दातबाट वाग्मती प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूलाई न्यूनतम उद्धार सामाग्री तत्काल पठाउने, गत असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा गएको भीषण बाढीबाट पीडितहरूका लागि तत्काल खाद्यान्न व्यवस्थापन गर्नका लागि आवश्यक खाद्य सामाग्री जिल्ला विपत् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई उपलब्ध गराउने, मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित विपत्का घटनाहरूलाई मध्यनजर गरी प्रदेश अन्तर्गतका सबै सुरक्षा निकायहरू उच्च सतर्कतामा रही खोज, उद्धार एवम् राहत वितरण कार्यमा तदारुकताकासाथ खट्न साथै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्ने, प्रदेश विपत् व्यवस्थापन कोषमा रु १० करोड रकम थपगर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लेखी पठाउनेलगायत निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो ।

मन्त्री पाण्डेका अनुसार बैठकले विश्वव्यापीकरण फैलिरहेको नयाँ ‘भेरियन्ट’ सहितको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारकार्य गर्न कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताबाट सिङ्गटी अस्पताल, दोलखालाई रु. २० लाख, नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई (धुलिखेल अस्पतालमार्फत) रु. २० लाख, नुवाकोट सिटी कम्युनिटी अस्पताललाई रु. ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुरलाई रु. ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल, काठमण्डौंलाई रु. ५० लाख र ख्वप अस्पताल, भक्तपुरलाई रु १ करोड रकम सामाजिक विकास मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button