तपाईँ सुन्दै हुनुहुन्छः

युरोकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ । युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औँ संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरू हुँदै छन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ’सी’ को दुई खेल र समूह ’बी’ को एक खेल हुने छन् । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ’सी’ मा रहेको दुई टोलिबीचको खेल भने अहिले भइरहेको छ ।

आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौथो स्थानमा रहेको छ । 

आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अङ्क जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।

डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्यान्डसँग १–० ले पराजित भएको थियो । पुछारमा रहेको डेनमार्क पहिलो अङ्क जोड्न चाहन्छ । आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ’सी’ मा रहेका दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button