तपाईँ सुन्दै हुनुहुन्छः

बाढी–पहिरोमा फसेका मनाङका ३५ जनाको हेलिकप्टरबाट उद्धार

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा बाढी र पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङको सिरान तालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

मौसममा आएको खराबीका कारण विगत तीन दिनदेखि बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न हेलिकप्टर जान सकेको थिएन । मौसममा सुधार आउना साथ बिहीबार बिहानै सेनाको हेलिकप्टरले अलपत्र नागरिकको उद्धार गरेको हो । सिरान तालका नागरिकलाई हेलिकप्टरमार्फत तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

बाढी र पहिरोमा फसेका नागरिकको उद्धारमा मनाङबाट निर्वाचित सांसद पोल्देन गुरूङसमेत हेलिकप्टरमा गएका थिए । सिडिओ लामिछानेका अनुसार सेनाको हेलिकप्टरले बाढी र पहिरोबाट पीडित भएका नागरिकहरूलाई तत्काल राख्न त्रिपाल, टेन्टलगायतका सामग्री समेत लगेको छ ।

यस्तै मौसममा सुधार आएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि मनाङको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश सरकारका मन्त्री राजीव गुरुङ र सांसद चिन्तबहादुर घलेसहित मुख्यमन्त्री नेपालीले मनाङको बाढी प्रभावित क्षेत्रको अवलोकन तथा प्रभावितहरूसँग भेट गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री गुरुङले प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड रुपैयाँ राख्ने निर्णय गर्नुभएको थियो । उक्त रकम बाढी र पहिरो पीडितको राहत, उद्धार र व्यवस्थापनमा खर्च गर्ने प्रदेश सरकारले जनाएको छ ।

यसै गरी नेपाल सरकारका पूर्व मन्त्री एवं मनाङका पूर्व सांसद टेकबहादुर गुरुङले पनि बाढी पहिरोबाट प्रभावित जिल्लावासीहरूका लागि राहत उपलब्ध गराउनु भएको छ । पूर्व मन्त्री गुरुङले काठमाडौँ र लमजुङको सदरमुकाम बेसीशहर देखि खाद्यान्न तथा अन्य राहतका सामाग्री प्रभावित क्षेत्रमा पुर्‍याउनु भएको हो ।

नेपाली काँग्रेस मनाङका सभापति समेत रहनुभएका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र विघटित प्रतिनिधि सभा सदस्य, सांसद कर्म घलले निजी खर्चमा राहत सामाग्री सहित फिस्टेल हेलिकप्टरबाट मनाङ जानु भएको हो ।

पूर्व मन्त्री गुरुङले पहिलो चरणमा मनाङको तालमा अवतरण गरी हेलिकप्टरमार्फत चार पटक सम्म बेसी शहरबाट राहतका सामाग्री ओसार्नु भएको थियो । पूर्व राज्यमन्त्री गुरुङ र सांसद घलेले तालका प्रभावितहरूलाई राहत वितरण गरी ओडारमा बस्दै आएका धारापानीका प्रभावितहरूलाई भेट गरी राहत वितरण गर्नुभएको छ भने धारापानी क्षेत्रको स्थलगत अवलोकन समेत गर्नुभएको पूर्व राज्यमन्त्री गुरुङका स्वकीय सचिव सोनाम लामाले जानकारी दिनुभयो ।

पूर्व मन्त्री गुरुङ र सांसद घलेले सदरमुकाम चामेमा पुगी प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, स्थानीय जनप्रतिनिधि, बाढी पहिरो प्रभावितलगायत सुरक्षा निकायका टोलीसँग भेटी गरी विपत्तिबाट परेको प्रभाव, राहत र दीर्घकालीन समाधानका विषयमा पनि छलफल गर्नु भएको स्वकीय सचिव लामाले जानकारी दिनुभयो ।

सोमबार देखि शुरु भएको अविरल वर्षा सँगै मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोङ गाउँपालिका–१ तालमा ३८ वटा घरहरू डुबानमा परेका छन् भने अन्य घरहरू पनि बाढीको उच्च जोखिममा रहेका छन् । यसै गरी मनाङको दुघखोला र मर्स्याङ्दी नदीको बाढीले पुरानो धारापानीमा रहेको नासोङ गाउँपालिकाको कार्यालय, प्रहरी कार्यालय, दुई वटा बैङ्क लगायत सर्वसाधारणका घरहरू पनि बगाएको छ । मनाङका सडक तथा अधिकांश खोलाहरूमा राखिएका अस्थायी पुलहरू बगाएकाले आवतजावतमा समेत समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button