तपाईँ सुन्दै हुनुहुन्छः

एमालेलाई फुटबाट जोगाउन नेता खनालको आह्वान

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गर्नु भएको छ ।
 स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जानु अघि उहाँले आज विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनाश बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।     

नेता खनालले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठुला सफलतालाई स्मरण गर्न आग्रह गर्नुभएको छ ।    

नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरूभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले  विज्ञप्तिमा देशका प्रमुख दलहरू र तिनका नेताहरुबीचको अनावश्यक टकराब, महत्त्वाकाङ्क्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ ।     

नेता खनाल चिकित्सकको सल्लाहमा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि आज जानुभएको छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button