अछाममा सहुलियतको खाद्यान्न पाएपछि स्थानीय खुसी

अछाम। कोरोना महामारीमा हुन सक्ने खाद्यान्न अभावको समस्यालाई मध्यनजर गर्दै अछाममा सहुलियतमा चामल गहुँ वितरण भइरहेको छ । सरकारले हालै जारी गरेको नियम अनुसार ७७ वटै जिल्लामा २० प्रतिशत छुटमा खाद्यान्न वितरण गर्ने कार्यक्रम अनुसार अछाममा पनि सहुलियतमा चामल वितरण थालिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा अछामले नागरिकलाई २० प्रतिशत छुटमा चामल वितरण गरिरहेको भन्दै हाल असार २ गतेसम्म ८ सय बढी क्विन्टल चामल वितरण भइसकेको कार्यालयका निमित्त शाखा प्रमुख हिरामणी जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेठ २१ गतेदेखि सहुलियतको चामल वितरण सुरु भएको र आजसम्म ८ सय क्विन्टल चामल विक्री वितरण भइसकेको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न वितरण गरिने भन्दै उहाँले स्वास्थ्य मापदण्डको पालना गरी चामल वितरण भइरहेको बताउनुभयो ।
अहिले प्रति परिवारलाई ३० केजीका दरले चामल वितरण भइरहेको छ । कार्यालयका अनुसार प्रतिकेजी ४५ रुपैयाँ पर्ने अरुवा मोटो चामल पहिले ३० केजीको १ हजार ३ सय ५० रुपैयाँ तोकिएको थियो भने अहिले १ हजार ८० रुपैयाँ प्रतिकेजी ३६ रुपैयाँ मात्रै तोकिएको छ ।
यस्तै यसअघि जिरा स्टिम मसिनो चामल २५ केजीको १६ सय ५० रुपैयाँमा बिक्री गरिँदै आएकोमा अहिले १३ सय २० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । एक घरका एक जनाले आफ्नो नागरिकता प्रमाणपत्र लिएर गएमा चामल तथा गहुँ पाउनेछन् ।
निमित्त कार्यालय प्रमुख जोशीले अब गोदाममा १०५ क्विन्टल चामल मौज्दात रहेको र माग बढी भएकाले थप चामल एक दुई दिनमा आइपुग्ने बताउनुभयो । सहुलियत मूल्यमा चामल पाउन थालेपछि स्थानीय पनि खुसी भएका छन् ।
मङ्गलसेन नगरपालिका २ का सिद्ध नेपालीले यो विषम परिस्थितिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट छुट मूल्यमा चामल पाउँदा केही राहात मिलेको बताउनुभयो । सहुलियतमा चामल पाएपछि खाद्य गोदाममा सेवाग्राहीको भिडभाड बढेको छ ।
कतिपय अवस्थामा चामलको दुरुपयोग हुन सक्ने भएकोले त्यसतर्फ सजग रहनुपर्ने र व्यापारीले बिक्री गर्न सक्ने तर्फ चनाखो रहनुपर्ने सरोकारवालाले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्