तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा बाढीकाे वितण्डा

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुदेखि उर्लिएर आएको बाढीले नदी किनार कोरिडोरमा वितण्डा मच्चाउँदा  सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको छ । राति करिब पौने २ बजेको समयमा बाढीले चौताराबाट नवलपुर हुँदै  मेलम्ची जोड्ने पुल  भत्काएको हो ।

बाढीले  हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरू, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्क लगायतका दर्जनौँ संरचनामा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । मानवीय क्षति सहित मेलम्चीमा  बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटेल रेस्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरी अर्बौँको क्षति भएको स्थानीय सिपी दुलालले बताउनु भयो । मानवीय क्षतिको वास्तविक विवरण भने अहिलेसम्म आएको छैन।

मेलम्ची बाढीबाट विस्थापित भएकाहरू अधिकांशले आजको रात खुला आकाशमा बिताएका छन् । बाढीको जोखिम झनै बढेपछि सुरक्षित स्थान खोज्दै विस्थापितले रात कटाएका हुन् । अविरल वर्षाका कारण उर्लंदो खोलाले घर कटान गर्ने सम्भावना भएकाले नदी कोरिडोरका बासिन्दा माथि माथि सरेर ज्यान जोगाउनेतिर लागेका हुन् । हेलम्बुका किउलबासी घरमाथि रहेको बारीको पाटालाई आश्रय लिएर सुरक्षित स्थानमा सरेको किउलका अर्जुन भण्डारीले जानकारी दिनुभयो। खोलाको बहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेको उहाँको भनाइ छ । ग्याल्थुमवासी पनि भाग दौडपछि बस्तीमाथि सरेका छन् ।

यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन् ।स्थानीयका अनुसार मेलम्चीवासीले आजको रात ज्यान जोगाउन नगरपालिकाको कार्यालयको प्राङ्गण, शेरा फाँट, इन्द्रावती क्याम्पसलाई रात कटाउने थलोका रूपमा लिएका छन् ।बाढीले दर्जनौँ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिद्युत् आपूर्ति बन्द भएकाले उद्धार गर्न सकिएको छैन । कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन ।वर्षा नथामिएकाले समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । सडकहरू बगाएको स्थानीयले जानकारी दिएका छन् ।मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाइनिज क्याम्पमा समेत बाढी पसिसकेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो ।

घटनाको थप विस्तृत विवरण अझै आउन बाँकी छ । साँझ  पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ भोताङ  स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथि भीषण पहिरो गएर इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको  थियो ।  उता हेलम्बु गाउँ पालिका १ मेलम्ची खानेपानी मुहान माथि नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button