तपाईँ सुन्दै हुनुहुन्छः

मनाङको ताल गाउँ डुबानमा, सुरक्षित आश्रयको खोजीमा

मनाङ । अविरल वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ केही दिन देखिको निरन्तर वर्षाका कारण मर्स्याङ्दी नदीका बहाव बढे सँगै बाढी आएर डुबानमा परेको हो । 

मर्स्याङ्दी नदी नजिकका २० घर र भानु मा.वि. विद्यालय डुबानमा परिसकेको स्थानीय मिनराशी गुरुङले बताउनुभयो । उहाँका अनुसार ती घरको आधा जति भाग डुबाइसकेको छ । अन्य घरहरू पनि जोखिममा परेको छ । स्थानीय घर छाडेर बाहिर निस्किएका छन् । सुरक्षित ठाउँको खोजीमा तड्पिएका छन् ।

उक्त क्षेत्रमा विद्युत् अवरुद्ध छ । गाउँ पूरै जोखिममा परेपछि मङ्गलवार बिहानै लमजुङ र मनाङ सिमाना म्यार्दीडाँडामा आएर मोबाइलबाट फोन गर्दै गुरुङले भन्नुभयो, “बस्ती सबै डुबाउन लाग्यो । २० घर डुबाइसक्यो । जसोतसो भिरभिरै हिँडेर म्यार्दीसम्म आएको छु । गाउँका मानिसहरू कहाँ जाम, कता जाम भएको छ । प्रहरीलाई पनि फोन लागेन । म्यार्दी आउँदा टावरले काम गर्छ भनेर आएको ।”

करिब ६० घरधुरी रहेको ताल गाउँमा स्थानीय डुबानमा परिने डरले रातभर निदाउन पाएका छैनन् । उनीहरू सुरक्षित ठाउँको खोजीमा बस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । सिरान तालको भिरतिर बसेका छन् । निरन्तर पानी परिरहँदा बस्ती जोखिममा पुगेको स्थानीयले बताएका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर बस्ती माथि डुबाउँदै आएको बताएका छन् ।

बस्तीका अन्य घर पनि जोखिममा रहेकाले स्थानीयले उद्धारको माग गरेका छन् । मनाङबाट निर्वाचित सांसद पोल्देन छोपाङले भन्नुभयो गृहमन्त्री खगराज अधिकारीलाई स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाउन अनुरोध गरेको छु । अनुरोध लगत्तै माननीय गृहमन्त्रीज्यूले बाढीको जोखिममा परेका मनाङका बासिन्दाको तत्काल हेलिउद्धार गर्न सचिवलाई निर्देशन दिनुभएको छ । मौसमले साथ दिए लगतै हेलिकप्टर उडान हुनेछ र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिनेछ । 

स्थानीयले प्रहरी, प्रशासनलाई सम्पर्क हुन नसकेको बताए पनि मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने प्रहरी उक्त क्षेत्रमा खटिसकेको बताउनुभयो । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताउनुभयो । डुबानमा परेका घरहरूबाट सामान ओसार्ने काम भइरहेको र सुरक्षित ठाउँमा राख्न थालिएको बताउनुभयो । नागरिकलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गर्नुभएको छ । उहाँका अनुसार गाउँसँगै विद्यालय र वडा कार्यालय पनि डुबानमा परेको जानकारी आएको छ ।

वर्षाका कारण चामेको नयाँ बजार नजिकैको घट्टे खोला बढेर बस्तीभित्र बाढी पसेको छ । नयाँ बजारको एउटा घर बगाएको र २ वटा क्षतिग्रस्त भएर ढल्ने अवस्थामा रहेको प्रजिअ लामिछानेले बताउनुभयो । सडक क्षतिग्रस्त छ । आवतजावतमा समस्या भएको छ । यसअघि जेठ १४ गते पनि घट्टे खोलामा आएको बाढी बस्तीभित्र पसेको थियो । बाढीले केही  टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो । यस्तै मङ्गलवारको बाढीले तिमाङको बेलिब्रिजमा पनि क्षति पुर्‍याएको जानकारी आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button