गण्डकी प्रदेश : काँग्रेस नेतृत्वमा सरकार बनाउन ३१ सांसदको हताक्षरसहित दावी

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले हिजो बहुमत ३१ सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएर प्रदेशमा सरकार निर्माणको दावी प्रस्तुत गरेको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदहरुले हस्ताक्षर बुझाउनुभएको हो ।
प्रदेश प्रमुखलाई सनाखत गर्न सजिलो होस् भनेर सशरीर उपस्थित भएको काँग्रेस नेता नेपालीले जानकारी दिनुभयो । उहाँले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न प्रदेश प्रमुख पौडेललाई आग्रह गर्नु भयो ।
त्यस क्रममा प्रदेश प्रमुख पौडेलले आज शनिवार प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको प्रदेश प्रमुखको सचिवालले जनाएको छ ।
यसअघि मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङ्गले विश्वासको मत प्राप्त गर्न नसक्नुभएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार निर्माणका लागि आब्हान गर्नु भएको थियो ।
हिजो दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।
यसका लागि आज दिउँसो ३ बजेसम्मको समयसीमा तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजु्दा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तोक्नुभएको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्तिमार्फत जानकारी गराइएको समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सभामा मुख्यमन्त्रीले पेस गर्नु भएको विश्वासको प्रस्तावका पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्