तपाईँ सुन्दै हुनुहुन्छः

चैते धान भित्र्याउन किसानलाई चटारो

file photo

टीकापुर। कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागुन, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।

फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनुपर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्राउन हतार भएको हो ।भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करिब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गर्नुभएको छ । उहाँको धान अहिले पाकेर सुन झैँ पहेँलो देखिएको छ ।

‘‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’’, धमलाले भन्नुभयो, ‘‘खेतमा पानी पसिसकेको छ ।’’ केही वर्षयता चैते धान नै यहाँको मुख्य अन्न बनेको छ ।अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्र्याउने उत्तिकै हतार छ । उहाँले १० कठ्ठा जमिनमा अन्न जोहोका लागि लागि चैते धान रोप्नु भएको छ ।

चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाइँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उहाँको भनाइ छ । ‘‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर सङ्कलन गर्न सम्भव छैन’’, धमालाले भन्नुभयो, ‘‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षातकको पानीले धान जोगाउने गरेका छौँ ।’’

हाँहरु जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसानलाई अहिले घरमा धान भित्र्याउन हतारमा छन् । चैते धान बर्से धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षातकको समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।छिट्टै रोपाइँ गरेका किसानहरू अहिले धमाधम धान भित्राइरहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् । ‘‘भजनीमा अधिकांश किसानले चैते धान खेती गर्छन् । जसको कम डुबान हुन्छ उनीहरू बर्खे धान पनि रोप्छन्’’, किसान अगुवा राधेश्याम चौधरी भन्नुहुन्छ,‘‘जमिन धेरै डुवानमा पर्ने किसानले बर्खे धान खेती गर्न सक्दैनन् । उनीहरूको अन्न भनेकै चैतमा रोपेको धान हो ।’’

यहाँका किसानले खेतको धान काटेर सडकमा बोक्ने र सोही दिन सडकमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गर्दछन् । यहाँका किसानलाई मनसुन सुरु हुने समय नजिकिएपछि झन् हतार भएको छ ।भजनीमा करिब ४०० बिघा क्षेत्रफलमा यस वर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्याङ्कमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् । ‘‘किसानलाई खेतीमा आत्मनिर्भर बनाउन, वापर टिल, मल, बीउ जस्ता कार्यमा अनुदान र सहयोग कार्यक्रम भइरहेका छन्’’, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भन्नुभयो, ‘‘बर्खे धान खेतीभन्दा चैते धान खेती यहाँका किसानको रोजाइ बनेको छ ।’’

कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुबानको समस्या हुन्छ । बाढी र डुबान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षातमा खेती गर्दैनन् । बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमिन बगर समेत बनेको छ । बगर बनेको जमिनमा यहाँका किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button