दार्चुला -तिंकर सडक : सर्वेक्षण सम्पन्न

दार्चुला। दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो । नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डिपिआर निर्माण गर्न लागेको हो । परामर्शदाता कम्पनीले ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्भेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इन्जिनियर सुशील देवकोटाले जानकारी दिनुभयो ।
“व्याँसको कोठेधारबाट छाङ्गरुसम्म भारतको जस्तै महाकाली नदी किनारै किनार भएर सर्भेक्षण गरिएको छ”, देवकोटाले भन्नुभयो, “कहीँ भारतको भन्दा थोरै माथि होला । सर्भेक्षणका क्रममा सडकलाई महाकाली नदी किनारै किनार भएर तिंकरसम्म पु¥याउने प्रयास गरिएको छ ।” सर्भेक्षणको क्रममा १८ जनाको टोली सहभागी थियो । भौगोलिक रूपमा विकट र पहाड तथा जङ्गलको बाटोमा सामग्री ढुवानीमा समस्या हुँदा सर्भेक्षणको काममा बढी समय लागेको इन्जिनियर देवकोटाको भनाइ छ । “चालु आर्थिक वर्षमा डिपिआर निर्माण गरेर नेपाली सेनालाई बुझाउँछौँ”, उहाँले भन्नुभयो, “फिल्ड प्रतिवेदन सकिएकाले अबको दुई महिनाभित्र डिपिआर निर्माण सकिन्छ ।”
सरकारले द्रुतगतिमा रणनीतिक महत्त्व बोकेको दार्चुला–तिंकर सडकलाई सेनामार्फत काम गराउने निर्णयपछि सेनाले अहिले व्याँस गाउँपालिकाको सुनसेरा र दुम्लिङमा निर्माण कार्यदलको क्याम्प राखेको छ । “सुनसेरामा क्याम्प निर्माण सकिएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “दुम्लिङमा क्याम्प निर्माणको काम अन्तिम चरण पुगेको छ ।” डिपिआर प्राप्त भएपछि आगामी आवबाट यो सडकको निर्माण सुरु हुने पौडेलले बताउनुभयो । “हामीले जिम्मेवारी लिइसकेपछि समयमै निर्माण सक्ने गरी काम गर्छौँ । सोहीअनुसार अहिले क्याम्प राख्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
आगामी आवबाट निर्माणको काम सुरु गर्ने गरी सेनाले आवश्यक जनशक्ति फिल्डमा खटाएको छ । आव २०६४÷६५ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडक खण्डको ४३ किलोमिटर सडकखण्डमात्रै अहिलेसम्म ट्र्याक खुलाइएको छ । अहिले सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका–३ सम्म सडकको ट्र्याक खुलाउने काम भएको छ । महाकाली लोक मार्गअन्तर्गत साबिकको दार्चुला–तिंकर सडक खण्डअन्तर्गत चार किलोमिटर सडक लोक मार्गअन्तर्गत निर्माण हुनेछ ।
सरकारले महाकाली लोकमार्गका लागि आगामी आवका लागि रु एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये महाकाली लोकमार्ग, दार्चुला–तिंकर सडक योजनाले चलाउने बजेट र सेनामार्फत सञ्चालन गरिने सडक योजनाको बजेट के–कति हो भन्ने छुटाइएको छैन । “अहिलेसम्म हामीलाई बजेट कति आउने हो भन्ने यकिन भएको छैन”, नेपाली सेनाका प्रवक्ता पौडेलले भन्नुभयो, “बजेट सिलिङ प्राप्त भएको छैन । यस आर्थिक वर्षभित्र हामीले डिपिआर निर्माण गर्ने लक्ष्य हो ।”
महाकाली लोकमार्ग महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म निर्माण भइरहेको छ । यस सडक खण्डको कुल लम्बाइ ४२५ किलोमिटर छ । जसअनुसार महाकाली करिडोर खण्ड २९१ किलोमिटरअन्तर्गत पर्दछ भने दार्चुला–तिंकर सडक खण्डअन्तर्गत १३४ किलोमिटर दूरी पर्दछ । दार्चुला–तिंकर सडक खण्डमध्ये ४७ किलोमिटर सडक खण्ड महाकाली लोक मार्गले निर्माण गर्नेछ ।
अहिले लोक मार्गअन्तर्गत डडेलधुरा, बैतडी र दार्चुलाका विभिन्न सडक खण्डमा काम भइरहेको छ । महाकाली लोकमार्ग दार्चुला–तिंकर सडक योजना प्रमुख अच्युत विलास पन्तले बताउनुभयो । कोभिडका कारण चालु आवमा निर्माणकार्यले गति लिन सकेको छैन । व्याँसको तिंकरसम्म सडक पु¥याउन सक्यो भने यस सडकले रणनीतिक महत्त्व राख्दछ । सडक निर्माण गर्न सक्यौँ भने चीनसँगको सीधा व्यापार, भारतसँग व्यापार गर्न सहज हुने उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक सडक मात्रै हुने छैन, सुदूरपश्चिमकै व्यापारिक नाका हुनेछ । धार्मिक दृष्टिकोणले पनि यस सडकको महत्त्व छ । यो सडक भएर भारतले अतिक्रमण गरेको नेपालको ओम पर्वत, कैलाश मानसरोवर दर्शन गर्न सहज हुनेछ । भारतले महाकाली नदी किनारै किनार भएर लिपुलेक हुँदै मानसरोवर सडक खण्ड बनाएको छ । अहिले भारतले सडकमा कालोपत्रेदेखि दुई लेन सडक निर्माणको काम अघि बढाएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्