तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटका बेला मजदुर र विपन्नको छाक टार्दै क्याप्टेन श्रेष्ठ

काठमाडौँ । दिएर खाएर त कसलाई पो पुग्ला र १ तर आपत्–विपद्का बेला सहयोगी मनहरूको साथ पाउँदा दिने पाउने दुवैलाई राहतको अनुभव हुँदो रहेछ ।
गत वर्षको बन्दाबन्दीमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदुरी गर्नेहरूलाई करिब ३५ लाख बराबरको राहत वितरण गरेका एक पाइलटको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ । यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठ र उहाँकी श्रीमती लीला मास्केको  पहलमा तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधवार राहत वितरण गरिएको छ ।
विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण स्थानीय सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् । सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको थियो । सो मानवीय कार्यका लागि मोरङको जनता माध्यमिक विद्यालय, विराटनगरको ४३ औँ समूहका सहपाठी पोखरा निवासी वसुधा गुरुङ, संयुक्त राज्य बेलायत निवासी मधु गुरुङ, कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतको सहयोग रहेको छ । उक्त सङ्ख्यामा राहत वितरण गर्दा करिब रु तिन लाख खर्च भएको श्रेष्ठले राससलाई बताउनुभयो । विमानहरू नचलेका बेला घरमै आनन्दले बस्न पनि सकिन्थ्यो होला तर दिनदुःखीलाई सम्झिएर ती मनकारी पाइलटलाई सायद निद्रा लाग्दैन ।
सो गाउँमा खानेकुरा अभाव भएपछि कोही जङ्गलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार समाचार प्रकाशन भएको थियो । समाचार पढेर श्रेष्ठको मन पग्लियो । अनि सहयोगीहरुबाट खाद्यान्न सङ्कलन गरी वितरणका लागि आफै गाडीको प्रबन्ध गरेर निषेधाज्ञाकै बीचमा हिँड्नुभयो । विमान चालकको पास देखाएपछि र राहतको सामान देखेपछि आफूलाई सुरक्षाकर्मी र स्थानीय सरकारले सहजता गरिदिने गरेको क्याप्टेन श्रेष्ठले बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँवासी तिन चार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेका थिए ।
श्रेष्ठले काठमाडौँ महानगरपालिका–३० को रातो पुलमा स्थापना भएको सुविधा सम्पन्न आइसोलेसन सेन्टरलाई गत महिना रु एक लाख हस्तान्तरण गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोला निवासी श्रेष्ठको निवास नजिकको श्रीसागर खाद्य स्टोरबाट दैनिक ३०÷४० जना मजदुर र विपन्नलाई राहत वितरण भइरहेको छ । आज बिहान पनि ललितपुरको च्यासलदेखि हिँडेर आएका सात महिला र सुकुम्वासी टोलका चार तथा सुत्केरीसहित गरी २५ जना परिवारलाई उहाँले राहत बाँड्नुभयो ।
पसलबाट राहत बाँड्न थालेपछि बाटोमा हिँड्ने ज्याला मजदुरहरू पनि लाइन लाग्न आउने हुँदा उनीहरूलाई पनि श्रेष्ठले खाली हात पार्नुहुन्न । गत वर्ष ग्याँस अभाव वा काठमाडौँबाट गाउँ घर जान खर्च नपाएकाहरूलाई उहाँले कोभिडको जोखिम मोलेर ठाउँ ठाउँमा आफै पुगेर नगदै पनि दिनुभएको थियो । गत वर्ष काठमाडौँका थानकोट, बालाजु, जोरपाटी, भक्तपुरको सूर्यविनायक र ललितपुरका गोदावरीसम्मका विभिन्न स्थानमा आफैले गाडीमा राखेर सामान बाँडेको उहाँको टोलीले यस पटक आवश्यकता भएका ठाउँमा आफै पुगेर सामान उपलब्ध गराइदिने गर्नुभएको छ ।
गत वर्षको बन्दाबन्दीको समयमा श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुर, एकल महिला, खुद्रा पसल चलाउनेहरू, अपाङ्गता भएका र विपन्नलाई पटक पटक गरी करिब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो । शुरुमा क्याप्टेनहरू रमोद श्रेष्ठ र गौरव बोहराको हौसलाबाट उहाँले यो अभियान थालनी गर्नुभएको थियो । श्रेष्ठले गोरखा भूकम्पका बेला काभ्रेपलान्चोकमा पाँच लाख बराबरको सहयोग गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button