नवनियुक्त मन्त्रीहरूको शपथग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । पछिल्लो पटक गत वैशाख ३० गते ठुलो दलको नेताका हैसियतमा प्रधानमन्त्री हुनुभएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

विस्तारित मन्त्रीपरिषद्मा गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री र आशाकुमारी वि.क.लाई वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको थियो ।
समारोहमा राज्यका उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो । शपथग्रहण पछि नवनियुक्त मन्त्रीहरू पदभार ग्रहण गर्न मन्त्रालय जानु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्