तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको मारमा बस व्यवसायी

सप्तरी । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको मारमा यातायात व्यवसाय पनि परेका छन्  ।
निषेधाज्ञाको मारमा  बस व्यवसायीहरू पनि प्रभावित भएका छन् । बैकबाट लाखौँ रुपैयाँ ऋणमा लिएर खरिद गरेका बस सञ्चालकहरू यति वेला बिचल्लीमा परेका छन् । गत वर्ष ७ महिना थन्किएर असोज १ गतेबाट गाडी चले पनि तीन महिना इन्धन राख्ने भाडा समेत उठेन ।
पुस लागेपछि केही ‘ट्रयाक’मा आएको यातायात क्षेत्र फेरि कोरोनाको दोस्रो लहरले ठप्प भएपछि बस व्यवसायीहरूको उठीबास हुन थालेको छ । सगरमाथा बस व्यवसायी सङ्घसँग झन्डै सयौँ बस आबद्ध रहेको छ । कोरोनाको लहरमा सबै बस अहिले बस पार्क, सडक पेटी वा बस धनिको घरको अगाडि थन्किएको छ । संघका अध्यक्ष मोहम्द होदा अन्सारीले भन्नुभयो ,‘ कोरोना महामारी र राज्यको उदासीनताको कारण बस व्यवसायीहरू बर्बाद भएका छन् । बैङ्कको ब्याज तथा घर परिवार चलाउन पनि व्यवसायीहरूलाई समस्या भएको छ ।’ ‘गत वर्ष ७ महिना गाडी पूर्ण रूपमा थन्किए । उहाँले अहिले फेरि कति थन्किने हो, थाहा छैन, बस व्यवसायीको कारोबार चौपट भएको छ ।
लामो समय एकै ठाउँमा थन्क्याएर राख्नुपर्दा गाडी पनि बिग्रिन थालेको व्यवसायीहरू बताउँछन् । गत वर्ष लामो समय बसलाई थन्काएर राख्दा टायरलगायतका समानहरू फेरेपछि मात्रै सञ्चालन ल्याएका थियौ, एक अर्का बस व्यवसायीले भने,‘ फेरि कोरोनाको दोस्रो लहर सुरु भएदेखि थन्काएर राख्नुपरेको छ, लकडाउन लामो रह्यो भने फेरि विगत जस्तै सबै समान फेर्नुपर्छ ।’ मालवाहक गाडीहरू फाटफुट चले पनि सबैभन्दा बढी मारमा ‘पब्लिक भेहिकल’ रहेको उहाँले बताउनुभयो  ।
अहिले अवस्था सङ्कटकाल भन्दा पनि आफूहरूको लागि दुःखद रहेको अध्यक्ष अन्सारीले बताउनुभयो  । गाडीमै पूर्ण रूपमा आश्रित परिवार उठ्न नसक्ने गरी थला परेको छ, उहाँले भन्नुभयो , ‘राज्यबाट हामीलाई कुनै सहयोग हुँदैन । कुनै पार्टीको आन्दोलनमा पनि पहिलो निशानामा यातायात क्षेत्र रहन्छ, तर पनि यसमा कुनै पक्षको सहयोग हुँदैन ।’ गत वर्ष सार्वजनिक यातायातलाई सामान्य बनाउन भन्दै सरकारले कर्जामा २ प्रतिशत घटाउँदै १० प्रतिशतभन्दा बढी ब्याज नलिन बैङ्कहरूलाई निर्देशन दिएको थियो । तर, सरकारले निर्देशन दिए पनि बैङ्कहरूले त्यसको सुनुवाइ नगरी ब्याजदरमा छुट नदिएको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button