तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा नयाँ सत्ताको समीकरण गर्ने तयारीमा रहेका दलद्वारा बैठक अवरुद्ध

जनकपुरधाम । प्रदेश नंं २ मा सत्ता सहकार्यको तयारी गरिरहेका विपक्षी दलले पालिकामा प्रदेश सरकारबाट पठाएको सशर्त अनुदानको रकमका बारेमा विरोध गर्दै आजको प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
हिजो देखि शुरु भएको बजेट अधिवेशनको दोस्रो दिन नै अवरुद्ध गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।
बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका प्रदेश सभाका सदस्य सुन्दर बहादुर विश्वकर्माले सम्बन्धित क्षेत्रका सांसदको सिफारिस एवं परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको भन्दै त्यसको विरोध गर्दै निर्णय नसच्याएसम्म बैठक चल्न नदिने बताउनुभयो ।
नेपाली कांग्रेस प्रदेश सभाका सदस्य वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्ध गरिरहने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका प्रदेश सभाका सदस्य रामकुमार यादवले आफूहरू निर्वाचित भए पनि सो क्षेत्रमा सहमति विपरीत प्रदेश सरकारले रकम पठाएकोमा विरोध गर्नुभयो ।
बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले सरकारको ध्यानाकर्षण भएकाले आ–आफ्नो स्थानमा बस्नका लागि पटक पटक आग्रह गर्दा पनि नबसेपछि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने रोष्टमवाट नै अडान लिएपछि १ घण्टाको लागि बैठक स्थगित भएको सभामुखले जानकारी दिनुभयो ।
प्रदेश नंं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षधरले प्रदेश नंं २ मा नेपाली कांग्रेस र नेकपा माओवादीलाई पनि सरकारमा ल्याएर गठबन्धन गर्ने तयारी गरिएको वेलामा सशर्त अनुदानको योजनालाई लिएर प्रदेश सभाको बैठक नै अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button