तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन भेटिए तनहुँको एक वडामा १८ संक्रमित 

तनहुँ । शुक्लागण्डकी नगरपालिकाको वडा न ८ मा बिहीबार एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडामा सङ्क्रमितहरूको सङ्ख्या बढ्नै जान थालेपछि स्थानीयहरूमा गरिएको एन्टिजेन परीक्षण मार्फत १८ जनामा संक्रमण भएको पाइएको हो ।
वडाले आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरेको एन्टिजेनमा आधारित निःशुल्क परीक्षण कार्यक्रममा आज ६७ जनाले जाँच गराएका थिए । बिहीबार थपिएका १८ सँगै वडामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६४ पुगेको छ ।
वडामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणको लागि वडा कार्यालय सक्रिय देखिएको छ । वडावासीलाई घरघरमा नै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्यकर्मी परिचालन गरिएको छ । वडाले १८ जना स्वास्थ्य स्वयम् सेवक खटाएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
वडाकै हिमाली टोलमा सामान्य सङ्क्रमितका लागि २० बेडको आइसोलेसन निर्माण गरिएको छ । संयुक्त परिवारमा बस्दै आएका, डेरामा बसेका जस्ता घरमा आइसोलेट भएर बस्न असजिलो भएका सङ्क्रमितका लागि आइसोलेसन तयार पारिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । हिमाली टोलको नयाँ सामुदायिक भवनलाई वडाले आइसोलेसनका रुपमा प्रयोग गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button