कोरोना संक्रमण रोक्न जुम्लाको रावतबाडा गाउँ सिल

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतवाडा गाउँ एक साताको लागि सिल गरिएको छ । कोभिड—१९ सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो ।
गाउँपालिका स्तरीय कोभिड—१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ जेठसम्म रावतवाडा गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँकाअनुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतवाडा र खड्कावाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुवै जोडिएका गाउँ हुन् । गाउँमा कोभिड—१९ संक्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेसन थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेको भनाई छ ।
मङ्गलवार गाउँका २७ जनामा एन्टीजेन परिक्षण गरेकोमा ९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधवार गाउँका ५५ घरधुरीका १ सय ९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन । गाउँमा कोरोना संक्रमण भयावह हुन सक्ने अवस्था आयो । गाउँपालिका स्वास्थ्य संयोजक चौलागाईले भन्नुभयो, “गाउँ नै सिल गर्ने निर्णय भयो । विगत एक सातादेखि गाउँमा कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाएको हो ।”
एकै पटक ठुलो सङ्ख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब सङ्कलन गरिएको हो । यसअघि रावतवाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीव्र भएका थिए ।
काठमाडौँ, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोभिड—१९ लक्षणका बिरामी बढेको थाहा पाएपछि वडाध्यक्ष विशाल खड्का स्वास्थ्यकर्मीसहित गाउँमा पुगेका थिए । उहाँले बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टीजेन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाएका थिए ।
गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षण अनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाइले जानकारी दिए ।
जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४२८ पुगेको छ भने १८९ जना निको भएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर, एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्