कोरोना सङ्क्रमणबाट वीरगंज कारागारका कैन्दीबन्दी सुरक्षित

वीरगंज । प्रारम्भिक चरणमै उच्च स्वास्थ्य सतर्कता अपनाइएको कारण दोस्रो लहरको कोरोना सङ्क्रमणबाट वीरगंज कारागारका कैदीबन्दीहरु हाल सम्म सुरक्षित रहेका छन् ।
चैत महिनाको अन्तिम साता देखि नै कारागारमा बाहिरबाट आफन्तसँग हुने भेटघाटलाई पूर्ण रुपमा बन्द गरी कारागार भित्र उच्च स्वास्थ्य सतर्कता अपनाइएको कारण दोस्रो लहरको कोरोना संक्रमण वीरगंज कारागारसम्म पुग्न नसकेको वीरगंज कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले बताउनुभयो ।
कारागारमा अदालतबाट पूर्पपक्षका लागि पठाइएका कैदीबन्दीहरुलाई यस पटक कारागार भित्रै बनाइएको आइसोलेसन सेन्टरमा १५ दिन राखेर मात्रै भित्र अन्य कैदीबन्दीसँग घुलमिल हुने व्यवस्था मिलाइएको कारण अहिले कारागार भित्र संक्रमण नदेखिएको कारागारका चौकीदार मिश्रीलाल यादवले बताउनुभयो ।
वैशाख महिनामा प्रहरी हिरासतबाट आएका २ जनामा कैदीबन्दीमा कोरोना संक्रमण देखिएको र उनीहरूलाई आइसोलेसनमा राखी निको भएपछि मात्रै कारागार ल्याइएको कारागारका मुख्य नाइके दिनेश साह सोनारले बताउनुभयो ।
वीरगंज कारागारमा अहिले १ हजार १ सय ८१ जना पुरुष कैदी बन्दी, ७५ जना महिला र २ जना आश्रित बालबालिका गरी १ हजार २ सय ५६ जना कैदीबन्दीहरु रहेको वीरगंज कारागारका प्रवक्ता नवराज बर्तौलाले बताउनुभयो ।
गत बर्ष पहिलो लहरको कोरोना सङ्क्रमणको कारण वीरगंज कारागारमा रहेका झन्डै ३ सय भन्दा बढी कैदीबन्दीहरु संक्रमित भएका थिए भने २ जनाको मृत्यु समेत भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्