तपाईँ सुन्दै हुनुहुन्छः

अरुण गाउँपालिकालाई आविष्कार केन्द्रद्वारा अक्सिजन र पिपिई  सहयोग

भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिकालाई महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले अक्सिजन र पिपिई सहयोग गरेको छ ।
केन्द्रले तीन ३ थान अक्सिजन सिलिन्डर र १५ थान पिपिई गाउँपालिकालाई निःशुल्क प्रदान गरेको हो ।
पछिल्लो समय नयाँ  भेरियन्टको कोरोना सङ्क्रमण दर वृद्धि हुँदै जान थालेपछि स्थानीय तुलसी ढकाल लगायतको पहलमा केन्द्रले गाउँपालिकालाई अक्सिजन सिलिन्डर र पिपिई सेट सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।
नयाँ भेरियन्टको कोरोना सङ्क्रमण बढेसँगै गाउँपालिका स्वास्थ्य शाखामा बुझ्दा गाउँपालिकामा स्वास्थ्य सामग्री अभाव भएको पाएपछि केन्द्रमा पहल गरी गाउँपालिकालाई उक्त सामग्रीहरू उपलब्ध गराएको ढकालले बताउनुभयो ।
केन्द्रबाट आएको स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले देशभर अक्सिजन सिलिन्डरको अभाव देखिएको समयमा केन्द्रले गरेको सहयोग महत्त्वपूर्ण भएको बताउँदै राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई धन्यवाद दिनु भएको छ ।
अध्यक्ष कार्कीले कोरोना नियन्त्रण गर्न स्थानीय सरकारसँगै सरकारी तथा गैरसरकारी सङ्घ संस्था, स्थानीय राजनैतिक दल, समाजसेवी, बुद्धिजीवी लगायत सबैलाई एकजुट हुन समेत आग्रह गर्नुभयो ।
हाल गाउँपालिकाले कोरोना सङ्क्रमितका लागि अक्सिजन कन्सट्रेटर ५ थान, अक्सिजन सिलिन्डर ३ थान, आवश्यक पर्ने औषधी, उपकरण, आइसोलेसन बेडको व्यवस्थापन गरेको प्राथमिक स्वास्थ्य चौकी प्याउलीले जनाएको छ ।
मङ्गलवारसम्मको परीक्षण रिर्पोटमा अरुण गाउँपालिकामा ५३ जना कोरोना सङ्क्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button