५ जना फरार प्रतिवादी पक्राउ
भैरहवा । रुपन्देही प्रहरीले एकै दिन पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट सजाँय भई हालसम्म फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा साबिक मक्रहर–६ हाल तिलोत्तमा–११ रुपन्देहीका रुपा बुढाथोकी भन्ने ५३ वर्षीय धन बहादुर बुढाथोकी, साबिक मधवलिया हाल तिलोत्तमा–१६ का ५६ वर्षीय कन्हैया कुँवर जोगी, तिलोत्तमा–१६ कै ३६ वर्षीय राजन चौधरी भन्ने बेनीराम कवर जोगी, साबिक सुर्यपुरा–२ हाल गैडहवा–८ का ३२ वर्षीय बलवीर कुमार सुनार र साबिक शङ्कर नगर हाल तिलोत्तमा–२ का ३४ वर्षीय बाबुराम वि.क. रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्यनारायण थापाले बताउनुभयो।
डिएसपी थापाका अनुसार अदालतले धन बहादुरलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष, कन्हैयालाई कर्तव्य ज्यानमा १४ वर्ष, बेनीरामलाई जबरजस्ती करणीमा ७ वर्ष, बलवीरलाई कर्तव्य ज्यानमा १९ वर्ष ३ महिना र बाबुरामलाई अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष ८ महिना गरी पाँच जनालाई ५४ वर्ष ८ महिना ३ दिन कैद सजाँयको फैसला गरेको थियो ।
वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले प्रतिवादीहरूलाई घरबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि बुझाइएको र उनीहरू कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्