‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का नेता स्व पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने बताउनुभएको छ ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य स्व चौलागाईंको १३औँ दिनको पुण्य तिथिमा जिल्ला कमिटी दोलखाद्वारा भर्चुअल माध्यमबाट आज आयोजित स्मृति सभामा सरकारका प्रवक्ता गुरुङले स्व चौलागाईंले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपनालाई पूरा गर्न फाउन्डेशनमार्फत सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो, “उहाँको योगदानको सधैँ संरक्षण गर्नुपर्ने दायित्वप्रति सधैँ समर्पित रहने छु, त्यसका लागि उहाँको नाममा परिवारका साथ सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच छ ।” प्रतिष्ठान परोपकारी संस्थाका रुपमा सञ्चालन हुने र त्यसमा आफूले हरसम्भव सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।
मन्त्री गुरुङले दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर राजनीतिक चेतनासँगै कम्युनिष्ट आन्दोलनमा समाहित भई स्व चौलागाईं आन्दोलनको नेताकै हैसियतमा निधन भएको स्मरण गर्दै उहाँले दोलखा र सिङ्गो मुलुकप्रति गरेको योगदान सधैँ जीवित रहने बताउनुभयो ।
मनमोहन मेमोरियल अस्पतालमा उपचाररत चौलागाईंको गत वैशाख २८ गते मङ्गलवार राति कोरोना भाइरसका कारण निधन भएको हो । दोलखा प्रदेशसभा (ख) बाट निर्वाचित भएका चौलागाईं यसअघि प्रतिनिधिसभा सांसदसमेत हुनुहुन्थ्यो । चौलागाईं युवा सङ्घका पूर्व अध्यक्ष र पछि पार्टीको वाग्मती अञ्चल कमिटीको इन्चार्जसमेत बन्नुभएको थियो । चौलागाईंका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।
मन्त्री गुरुङले भन्नुभयो, “स्व चौलागाईंले बनाउनुभएको आस्थाको धरोहर, राजनीतिक छवि, असल राजनीतिक संस्कार कहिल्यै मर्ने छैन र एक जना अनुयायीको नाताले मर्न दिने छैनौँ ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी स्थापनापश्चात् दोलखामा कम्युनिष्टको बीउ रोप्ने बेलादेखि मुलुकमा पटक पटक भएका परिवर्तनका आन्दोलनमा स्व चौलागाईंले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
एमाले नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले स्व चौलागाईंले दोलखा र समग्र नेपालको विकासमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँका सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । एमालेका नेता लालकुमार केसीले नेता चौलागाईंको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताउनुभयो । एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्व चौलागाईंका प्राप्त गरेका उपलब्धिलाई प्रतिष्ठानमार्फत संस्थागत गरिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्