मिर्गौलाका बिरामीलाई नगरपालिकाद्वारा सवारी सुविधा

तनहुँ । तनहुँका शुक्लागण्डकी नगरपालिकाले निषेधाज्ञाको समयमा नियमित डायलेसिस गर्नुपर्ने मिर्गौला रोगीहरूलाई समिति नै गठन गरेर सहयोग गर्न थालेको छ ।
यहाँ झन्डै ४५ को सङ्ख्यामा रहेका मिर्गौलाको समस्या हुनेहरूलाई डायलेसिस गर्न सहज बनाउने उद्देश्यले सवारीका व्यवस्थासहित सहयोग गरिएको हो ।
नगर कार्यपालिका सदस्य भरत लामगातेको संयोजकत्वमा गठन गरिएको उद्धार समितिले मिर्गौला पीडितहरूलाई दैनिक अस्पताल लैजाने र ल्याउने सुविधा प्रदान गरेको छ ।
संयोजक लामगादेले दैनिक पोखरा र दमौली जानुपर्ने बिरामीहरूको समस्या नगर स्तरबाट नै समाधान भइरहेको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाका २० जना बिरामीहरूलाई डायलेसिसको लागि अस्पताल लगिएको बताउनुभयो ।
नगरपालिका भित्र रहेको मिर्गौला पीडित बिरामीहरूलाई सम्पर्कमा आउन आग्रह समेत उहाँले आग्रह गर्नुभयो ।
समितिले नगरपालिकाका उपमेयर सविता रसाइली चढ्दै आएको गाडीसहित दुई सवारीलाई दैनिक मिर्गौला पीडित बिरामीको उद्धार गर्न प्रयोग गर्दै आएको जनाएको छ ।
निषेधाज्ञाको समयमा अस्पताल पुगेर डायलसिस गर्न असुविधा हुँदा समस्या विकराल बन्ने निष्कर्षसहित नगरले लामगादेको संयोजकत्वमा कार्यपालिका सदस्यहरु गीता महत र कुलबहादुर भुजेल तथा हेल्थ असिस्टेण्ड नवराज गौतम सदस्य रहेको चार सदस्यीय समिति उद्धार समिति गठन गरेको थियो ।
समितिले सम्बन्धित वडा र जनप्रतिनिधीहरुको सहायतामा मिर्गौलाको बिरामीहरूको नामावली सङ्कलन समेत गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्