कर्णालीमा तीन नयाँ मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ जना नयाँ मन्त्री नियुक्त गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का सांसदहरू गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय एवं सीता नेपालीलाई पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिनु भएको हो ।
यसअघि वर्तमान मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दिनु भएको राजीनामा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।
वैशाख ५ गते फ्लोर क्रस गरेर सरकार जोगाइदिएका तीन एमाले सांसदलाई मन्त्री बनाउनु भएका मुख्यमन्त्री शाहीले यो दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गर्नु भएको छ । आजै नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराइने कार्यक्रम तय गरिएको मुख्यमन्त्री निकट स्रोतको भनाई छ ।
फोटो : विन्दमान विष्टको फेसबुकबाट








प्रतिक्रिया राख्नुहोस्