कोरोना सङ्क्रमितको उपचारका लागि चिकित्सकको टोली घरदैलोमा

बीरगंज । बीरगंजमा होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितहरूको उपचारको लागि आजबाट ग्रिन सिटी सामुदायिक केन्द्रले चिकित्सकहरूको टोली नै बिरामीको घरदैलोमा पुर्याउने अभियान सुरु गरेको छ ।
पहिलो चरणमा बीरगंजको आदर्श नगर क्षेत्रलाई केन्द्रबिन्दु मानी ५ सय मिटर आसपासमा रहेका सङ्क्रमितहरूको उपचार सेवा पुर्याउने अभियानलाई आगामी दिनमा बीरगंज महानगरभित्र समेत बिस्तार गरिने ग्रिन सिटी सामुदायिक केन्द्र बीरगंजका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।
बीरगंज नगर क्षेत्रमा होम आइसोलेसनमा बस्ने सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र उनीहरूले उपचार सेवा नपाएको गुनासो आएपछि सङ्क्रमितहरूलाई घर दैलोमा नै सेवा पुर्याउने उद्देश्यले रुगंटा वेलफेयर सोसाइटी र मारवाडी युवा समाजको सहयोगमा अभियान सुरु गरिएको अध्यक्ष खेतानले बताउनुभयो ।
सेवा लिनका लागि सङ्क्रमित वा निजका परिवारले ९८५५०३६६१० नम्बरमा फोन गरेमा तोकिएको समयभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सङ्क्रमितको घरदैलोमै पुगेर उपचार गर्ने अध्यक्ष खेतानले बताउनुभयो ।
स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमितको उपचार तथा परामर्श एवं अक्सिजन आवश्यक परेमा निःशुल्क अक्सिजन सेवा समेत उपलब्ध गराउने ग्रिन सिटी सामुदायिक केन्द्रले जनाएको छ ।
यस सेवाको लागि नारायणी अस्पतालका कन्सल्टेन्ट फिजीशियन डा.राम किशोर सिंह, तथा. र नारायणी अस्पतालको आकस्मिक सेवा विभागमा कार्यरत र कोभिड बिरामीको उपचारमा रहनु भएका चिकित्सक डा.मो. शहाबुद्दीन कम्पाउण्डर मनीष कुमार चौधरी खटिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्