वीरगंजमा उपचारको क्रममा थप ६ सङ्क्रमितको मृत्यु
बीरगंज।वीरगञ्जमा उपचारत थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।बीरगंज स्थित नारायणी अस्पतालमा उपचारत ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ८ निवासी ५५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि गत बैशाख १५ गते नारायणी अस्पताल भर्ना गरिएको थियो । पुरुषको बैशाख १५ गते नै एन्टिजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण दुवै फोक्सोमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराउँदा समेत बचाउन नसकिएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसै गरी रौतहट जिल्लाको फत्तेपुर नगरपालिका वडा नम्बर ६ निवासी नारायणी अस्पतालमा उपचारत ६० बर्षिया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित भई बैशाख २२ गते अस्पताल भर्ना भएकी महिलाको उपचारको क्रममा आज मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।मृतक महिलाको पनि उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले बताउनुभयो ।यसै गरी रौतहटकै बिजयपुर निवासी ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे निधन भएको छ । आज बिहानै उपचारकालागी नारायणी अस्पतालमा ल्याएका उनको उपचार गर्न नपाउँदै निधन भएको अस्पतालका कोभिड संयोजक डाक्टर दासले बताउनुभयो ।
त्यसै गरी आज बिहान ५ बजे रौतहटको गौर नगरपालिका वडा नम्बर २ निवासी ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारकालागी बैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएका पुरुषको आज बिहान श्वास प्रश्वासमा समस्या भएपछि निधन भएको डाक्टर दासले बताउनुभयो ।यसै गरी नारायणी अस्पतालमा गए राति बीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्ता निवासी ७० वर्षीय पुरुषको उच्च निमोनियाको कारण फोक्सोले काम गर्न छाडेपछि निधन भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि बैशाख १९ गते उपचारकालागी नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।यसै गरी गएरातिनै रौतहटको गौर नगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षीय पुरुषको उच्च निमोनियाको कारण मृत्यु भएको छ । बैशाख २० गते श्वास प्रश्वासमा अवरोध भएपछि उपचारकालागी नारायणी अस्पतालमा भर्ना गरिएका पुरुषको २० गते नै कोरोना संक्रमण पुष्टि भएको र उपचारको क्रममा मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
गए राति र आज बिहान गरी वीरगन्जमा थप ६ जना सङ्क्रमितको मृत्यु भएसँगै वीरगन्जमा बैशाख यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ । मृत्यु भएकामध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३७ जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जना उपचाररत सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।
मृतक मध्ये ३१ जना पर्साका ७ जना बाराका ५ जना रौतहटका २ जना सर्लाहीका र १ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना फोकल पर्सन बिनय श्रीवास्तवले बताउनुभयो ।
यसैबिच बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो








प्रतिक्रिया राख्नुहोस्