दैलेखमा पहिलो पटक कोरोना संक्रमित शिक्षकको मृत्यु
दैलेख। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट दैलेखमा पहिलो पटक शिक्षकको मृत्यु भएको छ ।
भैरवी गाउँपालिका ४ स्थित गौरी माध्यमिक विद्यालय बालेकाँडामा कार्यरत ४५ वर्षीय शिक्षकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जगत थापाले जानकारी दिनुभयो । गएको सोमवार गरिएको पीसीआर परीक्षणमा ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका शिक्षकको दैलेख अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।
‘अक्सिजन स्याचुरेसन असाध्यै कम थियो, दैलेख सदरमुकामस्थित आइसोलेसनमा अक्सिजन सहित उपचार गराई रहेका शिक्षकको स्वास्थ्य स्थिति थप जटिल बन्न थालेपछि हामीले सुर्खेत रिफर गरेका थियौँ,’ डा. थापाले भन्नुभयो थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख–सुर्खेत सडक खण्डको जिरो प्वाइन्ट नजिकै मृत्यु भएको डा. थापाले बताउनुभयो ।
योसँगै दैलेखमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । पहिलो चरणमा ६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो भने दोस्रो चरणको कोरोना भाइरस तीव्र गतिमा फैलिएसँगै थप ४ जनाको मृत्यु भैसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्