स्वास्थ्यकर्मीको मनोबल बढाउन मेयर र उपमेयर अनुगमनमा
बाँके । नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र उप–प्रमुख उमा थापामगरले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भइरहेका कामहरूको अनुगमन गर्नुभएको छ ।उहाँहरूले विभिन्न स्थानमा पुगी भइरहेको कामको स्थलगत जानकारी लिई स्वास्थ्यकर्मीसहित अन्य कर्मचारीको मनोबल बढाउनुभएको छ ।
नगर प्रमुख डा. राणाले शिक्षण अस्पताल नेपालगन्जमा पुगेर सङ्क्रमितहरूको अवस्थाको बारेमा जानकारी लिनुभयो । बुधवार उप–प्रमुख उमा थापामगरले नेपालगन्जस्थित जमूनहा नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीसँग आवश्यक छलफल गरी सीमा नाकामा आवागमन व्यवस्थित गराउन र स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागि आग्रह गर्नुभयो ।
होल्डिङ्ग सेन्टरमा पुगेर पनि उपप्रमुख मगरले त्यहाँको अवस्थाबारे जानकारी लिनुभयो । सीमामा भारतबाट भित्रिनेहरूलाई नयाँ मास्क दिने गरिएको छ । सेनिटाईजरसहित उनीहरूको ज्वरो जाँच समेत गरिन्छ ।
सीमामै एन्टिजिन जाँच समेत हुने गरेको छ । भारतबाट भित्रिनेहरूलाई सीमामा निःशुल्क पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले विभिन्न सङ्घसंस्थाको सहयोगमा सीमा नाकामा व्यवस्थित आवागमनका लागि पहल गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्