तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने 

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको एक निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि बुधवार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले निजी अस्पताल ( चुरेहिल ) लाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
चुरेहिल अस्पतालमा आइसियुसहित २५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइने भएको हो । अस्पतालमा अहिले ८ आइसियु बेड, एउटा भेन्टिलेटरको सेवा उपलब्ध छ । सो सेवालाई निजी क्षेत्रका अन्य अस्पतालहरूको सहकार्यमा २५ बेडको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो ।
यसअघि हेटौँडा अस्पताललाई आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द गरेर कोभिड–१९ उपचार कक्ष सञ्चालनमा ल्याइएको थियो ।
कोभिड अस्पतालको रुपमा सञ्चालित हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएका २५ बेडको जनरल वार्ड, ३० बेडको एचडियु वार्ड र ६ वटा भेन्टिलेटरसहित ७ बेडको आइसियु वार्ड रहेको छ ।
बुधवार दिउँसो सम्ममा आइसियु वार्डमा १ जना, एचडियु वार्डमा १७ जना उपचाररत छन् भने, कोरोना संक्रमित भई एचडियु वार्डमा उपचाररत एक जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button