तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड-१९ को  दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
समावेशी र दिगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो “अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हर सम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहेका छन् ।”
आशातीत रुपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को  दोस्रो लहरबाट निक्कै ठुलो धक्का पुर्‍याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले  पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताउनुभयो ।
कोभिड–१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिबिम्बित भएको देखिन्छ, उहाँले भन्नुभयो “यसै गरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरूमा चुनौती थपिदिएको छ। गरिब एवं जोखिम समूह बढी प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।”
कोभिड–१९को महामारीले स्वास्थ्य, शिक्षा र मानव जीवनका समृद्धिका समग्र पक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उहाँले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताउनुभयो ।
अन्तर सम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थ्यमा आएको यस्तो सङ्कटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले खोपको आपूर्तिमा सबै देशले सहज रुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताउनुभयो ।
कोभिड–१९ विरुद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्र रूपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गर्नुभयो ।
आर्थिक पुनरुत्थानको गतिलाई दिगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिक रुपमा केन्द्रित भई आर्थिक क्रियाकलापहरू विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नु पर्ने बताउनुभयो ।
सार्क क्षेत्रले बजार र अर्थतन्त्रबिचको गहिरो अन्तर आवद्धताको माध्यमबाट क्षेत्रीय संवृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गर्नुभयो ।
एसियाली विकास बैङ्कको ५४औँ वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रवर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा एसियाली विकास बैकलाई धन्यवाद दिनुभयो ।
बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बङ्गलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गर्नु भएको थियो ।
यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थ सचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिसिन छनले सम्बोधन गर्नु भएको थियो ।
सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैङ्कका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड-१९ बाट आर्थिक पुनरुत्थान : समावेशी तथा उत्थानशिल आर्थिक वृद्धि विषयमा छुट्टा–छुट्टै प्रस्तुति गर्नु भएको थियो ।
अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरूले कोभिड१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एक आपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button