तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

बैतडी ।  बैतडीको पञ्चेश्वरमा हिजो दिउँसो बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । चार जनाको घटनास्थलमै र दुई जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका वडा नं ६ का वडा अध्यक्ष रामसिंह पुजाराले बताउनुभयो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र  ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका चालक तेजबहादुर बोहरा र स्थानीय ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा सदस्य पुजाराले बताए । दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी,२८ वर्षीय मदनसिंह भण्डारी, र २४ वर्षीय दिलिपसिंह भण्डारी रहेका छन् ।

जिप सडकबाट करिब ५सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button