कोरोना महामारीमा भरोसा बन्दै कर्णाली प्रतिष्ठान

जुम्ला । कोरोना महामारीको सङ्कटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको भरोसा बन्न थालेको छ । कुनै बेला सानो शल्यक्रिया गर्न र शवको पोष्टमार्टम गर्न चिकित्सक कुर्ने दुर्गम कर्णाली अहिले देशकै भरोसाको केन्द्रका रुपमा विकास भएको हो ।
हाल दोस्रो लहरको संक्रमण रोकथाम तथा उपचारका लागि जुम्लाबाट बाहिर जिल्लामा चिकित्सक खटाउने देखि सुगमका बिरामी समेत उपचार गर्न जुम्ला आउन थालेका छन् । जसले गर्दा कोरोना जस्ता हरेक सङ्कटमा कर्णाली प्रतिष्ठान सबैको भरोसा बन्ने विश्वास दिलाएको छ ।
दोस्रो लहरको सङ्क्रमणबाट आक्रान्त भेरी अस्पतालमा चिकित्सक अभावले सङ्क्रमितको उपचारमा समस्या भएपछि कर्णाली प्रतिष्ठानले ६ जना विशेषज्ञ चिकित्सकको टोली पठाएको छ । डा.प्रवीण गिरीको नेतृत्वमा आइतबार भेरी अस्पताल गएका चिकित्सकहरू सङ्क्रमितको उपचारमा खटिएका छन् ।
संक्रमण भयावह भएर उपचार गर्न नसक्ने भन्दै सरकार सामु गुहार मागिरहेको भेरी अस्पतालका चिकित्सकहरू लाई कर्णाली प्रतिष्ठानबाट ६ जना चिकित्सक गएपछि ठुलो भरोसा मिलेको छ ।
त्यस्तै, सुगममा उपचार नपाएपछि दुर्गम कर्णालीमा उपचार गराउन कोरोना सङ्क्रमणका बिरामी जुम्ला पठाइएको छ । कर्णाली प्रदेशको राजधानी प्रदेश अस्पताल सुर्खेतमा कोरोना सङ्क्रमणका बिरामीले बेड र अक्सिजन नपाएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने गरेका हुन् ।
प्रदेश अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीले अक्सिजन र बेड नपाएपछि उपचारका लागि ५ जना बिरामी जुम्ला आएको प्रतिष्ठानका निमित्त निर्देशक डा. राजीव शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश अस्पतालले बिरामी थेग्न नसकेपछि अन्तिम विकल्प जुम्लामै थियो । सुगमका बिरामीलाई दुर्गममा ल्याएर उपचार गर्न पाउनु खुसी सँगै सुगमलाई ठुलो चुनौती हो ।” सुर्खेतबाट आएका ५ जना बिरामीलाई अक्सिजन प्रयोग गरी उपचार थालिएको छ ।
अहिले सुर्खेत नेपालगन्जका सबै अस्पतालमा बिरामी भरिभराउ छन् । अक्सिजन अभाव उस्तै छ । बेड पाउने अवस्था पनि छैन । अन्तिम भरोसा भनेकै कर्णाली प्रतिष्ठान हो । त्यसैले जुम्ला अस्पतालमा अझै बाहिर जिल्लाबाट कोभिड बिरामी थपिने सम्भावना रहेको निमित्त अस्पताल निर्देशक शाहले बताउनुभयो ।
प्रतिष्ठानमा २ सय बढी अक्सिजन सिलिन्डर मौज्दात छन् । भने ‘मौज्दातमध्ये १ सय सिलिन्डर कोभिड बिरामीका लागि छुट्टाएको छ । आइसोलेसन बेड १२०, एचडीयु बेड २४ वटा, आइसियु बेड १२ वटा र भेन्टिलेटर १५ वटा तयारी अवस्थामा छन् ।
अन्य कोभिड स्वास्थ्य सामग्री, पिपिई, मास्क, स्यानिटाइजर अहिले २/३ महिना पुग्ने मौज्दात रहेको उहाँको भनाइ छ । बत्ती अभावका कारण अक्सिजन उत्पादन रोकिए पनि छिटै प्लान्ट सञ्चालन गर्ने तयारीमा रहेकोले जुम्लामा अक्सिजनको अभाव पनि नहुने बताइएको छ ।
यता जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्नुहुन्छ, “कुनै बेला नेपालगञ्जबाट पोस्टमार्टमका लागि चिकित्सक कुर्ने जुम्लाले अहिले सङ्कटमा उपचारका लागि चिकित्सक पठाउँछ ।”
सुगममा उपचार नपाएपछि दुर्गम मानिने जुम्लामा बिरामी आउन थालेका छन् । जसले गर्दा कर्णाली प्रतिष्ठान सङ्कटमा सबैको भरोसाको केन्द्र हो भन्ने स्थापित भएको प्रजिअ थापाले उल्लेख गरे ।
एम्बुलेन्स र शव वाहन छैन
प्रतिष्ठानमा कोरोना संक्रमित बोक्ने एम्बुलेन्स छैन । कोभिड–१९ एम्बुलेन्स नहुँदा सङ्क्रमित अस्पतालसम्म ल्याउन समस्या भइरहेको छ । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला पनि यस्तै समस्या झेल्नु परेको थियो ।
प्रदेश र केन्द्र सरकारसँग कोभिड–१९ एम्बुलेन्स व्यवस्थापनका लागि आग्रह गर्दा समस्या समाधान नभएको प्रतिष्ठानका प्रशासन अधिकृत द्वन्द्व शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, कानुन मन्त्री, सामाजिक विकास मन्त्रीलगायत सङ्घीय सरकारबाट जुम्ला आउने मन्त्रीलाई कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि आग्रह गरेका थियौँ । तर समस्या समाधान भएन ।”
शव वाहनको पनि उस्तै समस्या छ । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला सङ्क्रमितको जुम्लामा मृत्यु भएन । तर, दोस्रो लहरमा पहिले जस्तो होला भन्न सकिँदैन । त्यसैले पनि शव वाहनको व्यवस्था अनिवार्य गर्नुपर्ने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्