तपाईँ सुन्दै हुनुहुन्छः

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबिच हवाई उडान हुनेछ । दुई देशबिच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर तथा उद्धार उडान हुने बताउनुभयो ।

भारत र नेपालबिच एयर बल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबिच कायम एयर बल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू साताको दुई वटामा सीमित गर्ने निर्णय भएको छ ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेस गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकर्रर अधिकारीसमक्ष कारवाहीका लागि लेखिपठाउने मन्त्रिपरिषद्को निर्णय छ ।

त्यस्तै कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वारेनटिन खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button