जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहरिएका व्यक्ति १० वर्षपछि पक्राउ

सङ्खुवासभा । जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहरिएका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो ।
१० वर्षअघि १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका अधिकारीलाई सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सङ्खुवासभाले २०७२ माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो । उनले २०६८ माघ १२ मा बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
१० वर्षदेखि फरार अधिकारीलाई सुराकीको आधारमा शनिबार खनारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । अधिकारीलाई प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गरी आइतबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
त्यसै गरी इलाका प्रहरी कार्यालय चैनपुरले लागु औषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई वैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताउनुभयो । जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ को फैसलाले लागुऔषध मुद्दामा ४ महिना २४ दिन कैद र जरिवाना ५ हजार रुपैयाँको सजाय तोकेको थियो ।








प्रतिक्रिया राख्नुहोस्