अक्सिजन सहितको आइसोलेसन निमार्ण गर्दै सल्यानका स्थानीय पालिकाहरू

सल्यान । कोरोना सङ्क्रमितहरूको उपचारका लागि सल्यानका स्थानीय पालिकाहरूले अक्सिजन सहितको आइसोलेसन निमार्ण गर्न थालेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै जिल्लाका पालिकाहरूले अक्सिजन सहितको आइसोलेसन निमार्ण थालेका हुन ।
जिल्लाको नगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट र सिद्ध कुमाख गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्ण गरेका छन् । नगाड कुपिण्डे नगरपालिकाले अक्सिजन सहितको ५ र नर्मल १० गरी १५ , छत्रेश्वरीले १०, सिद्ध कुमाख अक्सिजन सहितको ११ र नर्मल १२ गरी २३ र कपुरकोट गाउँपालिकाले अक्सिजन सहितको ५ र नर्मल २५ गरी ३० शय्याको आइसोलेसन निमार्ण गरेका छन् ।
निर्माण गरिएको आइसोलेसनमा मेडिकल अधिकृत सहितले टोलीले स्वास्थ्य सेवा दिने छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रकाश दाहालले जानकारी दिनुभयो । अहिले तत्काल १० बेडको निमार्ण गरिए पनि बिरामीको चापका धारण बढाउँदै लैजाने योजना रहेको उहाँको भनाई छ ।
गाउँपालिका भित्रका अति जटिल कोभिड–१९ का बिरामीलाई उपचार कक्षमा राखी उपचार गरिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । सामान्य बिरामी भन्दा पनि अक्सिजन दिनुपर्ने बिरामीहरूको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन निमार्ण गरिएको उनको भनाई छ ।
अन्य स्थानका अस्पतालहरूमा बेडको अभाव हुन थालेपछि नगरपालिकाले अक्सिजन खरिद गरी आइसोलेसन निमार्ण गरेको नगाड कुपिण्डे नगरपालिकाका शाखा शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभयो । नगरपालिकामा कोरोना पोजेटिभको सख्या बढ्दै गएको र उपचारका लागि समस्या हुन थालेपछि तत्काल १५ बेडको आइसोलेसन निमार्ण गरिएको उहाँको भनाई छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै ५ बेडको अक्सिजन र २५ बेडको नर्मल गरी ३० बेडको आइसोलेसन निमार्ण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल सल्यानमा अहिले १६ बेडको आइसोलेसन रहेको छ । जसमा १३ बेडमा बिरामी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्